त्यसपछि फर्कदैनन् कर्णालीका बालबालिका

सुर्खेत । ‘यो सबै हामीले तेरा लागि गरेका हौँ । अहिले हामी बुढो भइसक्यौँ,’ अभिभभावक उनलाई सम्झाइरहेका छन्, ‘अब तैँले नै हामीलाई हेर्नुपर्छ ।’ अभिभावकले जिम्मेवारी र कर्तव्यको बोझ बिसाउन खोजिरहेका छन् । तर, ती युवाले अहिलेसम्म स्वीकार्न सकेका छैनन् ।

हुम्लाका ती युवा, जसले बाल्यकाल काठमाडौंकाे एक अनाथालयमा बिताए । त्यहीँ पढे, त्यहीँ हुर्किए । धेरै वर्ष पारिवारिक सम्बन्धबाट टाढा भएका उनी केही वर्षअघि मात्र पारिवारिक पुनर्मिलनमा आएका हुन् ।

‘घरपरिवारले आफूलाई ‘हेर्ने नै तैँ होस्’ भनेपछि मलाई पनि आश्चर्य लाग्यो । मेरो कुरा सुन्ने पनि कोही भएन,’ उनले भने, ‘उद्धार भएपछि मलाई परिवारसँग पुनर्मिलन हुनै गाह्रो भयो । म मानसिक रूपमा समेत तयार थिइनँ ।’ हुम्ला स्थायी ठेगाना भएका उनलाई त्यहाँको रीतिरिवाज, चालचलन फरक लागेकाे थियाे । भाषासमेत भिन्दै थियो ।

अनाथालयमा हुर्किएपछि पारिवारिक पुनर्मिलनमा सकस भएका उनी एक्ला होइनन् । हाल स्नातक अध्ययन गरिरहेकी काभ्रे स्थायी ठेगाना भएकी अर्की युवतीको समेत उस्तै व्यथा छ ।

छोराको आशामा बुबाआमाले धेरै छोरीलाई जन्म दिए । चार जना छाेरी जन्मिए । आर्थिक अवस्था कमजोर थियो । त्यसैले अनाथको परिचय दिएर उनी पनि काठमाडौंस्थित एक आश्रममा पुगिन् । उनले भनिन्, ‘म सानै थिएँ । हामी तीन दिदीबहिनीलाई अनाथालयमा राखिएको थियो । जेठी दिदी र बहिनीलाई एक पर्यटकले धर्मछोरी बनाएर विदेश लगे । म भने अनाथालयमै हुर्किएकी हुँ ।’

कतिसम्म भने धेरै समय एउटै अनाथालय बसेका तीन दिदीबहिनीलाई आफ्नो नातासमेत थाहा भएन । त्यो थाहा पाउन उनलाई धेरै समय लाग्यो । ‘आश्रममा हाम्रो नाम र थर भिन्दै थियो,’ उनले भनिन् । पारिवारिक पुनर्मिलन कार्यक्रमपछि उनी आफ्नो अभिभावकसँग भेट गरिन् । पुनर्मिलन कार्यक्रमको ६ महिनापछि आमाको निधन भयो । त्यसको केही समयपछि बुबा पनि बिते । साे घटनापछि केही समय आफन्तकहाँ बसेकी उनी अहिले काठमाडौंमा कोठा भाडामा लिएर बस्छिन् । ‘म अहिले डिप्रेसनको औषधि खाइरहेकी छु । जीवनमा मैले लामो समय बुबाआमासँग बिताउन पाइनँ । त्यसैले यस्ताे भयाे । यस्तो कसैलाई नहोस्,’ उनले भावुक हुँदै भनिन् ।

हालै वीरेन्द्रनगरमा एक अन्तर्क्रियामा आफ्न भोगाइ बताउँदै उनीहरूले कर्णालीका बालबालिका अहिले पनि अनाथालयलगायतका बालगृह पुग्ने जोखिम रहेको बताए । गरिबीका नाममा अभिभावक तथा आफन्तले नै आफ्ना बालबालिकालाई अनाथालय पठाइरहेको उनीहरू बताउँछन् ।

कर्णालीबाट विभिन्न कारणले अनाथालय पुग्ने प्रायः बालबालिका पुनः फर्केर कर्णाली आउँदैनन् । ती बालबालिका कोही धर्मपुत्र-धर्मपुत्री बनेर हराउँछन्, कोही नाम थर परिवर्तन भएर हराउने गरेका छन् । कर्णालीमा यस्ता बालबालिकाको यकिन तथ्यांक न स्थानीय तहसँग छ, न त प्रदेश सरकारसँग नै ।

तथ्यांकमा समेत कर्णालीबाट बर्सेनि सयौँको संख्यामा बालबालिका हराउने गरेका छन् । विगत तीन आर्थिक वर्षमा कर्णालीमा ९ सय ८९ जना बालबालिका हराएको तथ्यांक छ । यीमध्ये ९७ जना बालबालिका हालसम्म पनि फेला नपरेको राष्ट्रिय बाल अधिकार परिषद्का कर्णाली प्रदेश समन्वय अधिकृत डम्मरबहादुर रोकाय बताउँछन् ।

२०७७/०७८ मा हराएका कर्णालीका २१ बालबालिका अझै भेटिएका छैनन् । यसैगरी, २०७८/०७९ मा ३४ र २०७९/०८० को हालसम्ममा ४२ जना बालबालिका नभेटिएको उनले बताए । २०७७/०७८ मा ३ सय ९ जना बालबालिका हराएकोमा २ सय ८८ बालबालिका मात्र फेला परे । २०७८/०७९ मा हराएका ४ सय ११ बालबालिकामध्ये ३ सय ७७ बालबालिका फेला परेका थिए । त्यसैगरी, २०७९/०८० को हालसम्ममा दुई सय ६९ जना बालबालिका हराएकोमा २ सय २७ जना मात्र फेला परेका छन् ।

कहाँ पुग्छन् बालबालिका ?

खासगरी उपल्लो हिमाली जिल्लाहरूबाट बालबालिकाहरू विभिन्न प्रलोभनमा हराउँछन् । गरिबीको बाध्यता बनाउँदै परिवारबाटै बालबालिकालाई टाढा बनाइने गरेकाे परिषद्का समन्वय अधिकृत रोकाय बताउँछन् ।

काठमाडौंलगायतका पर्यटकीय चहलपहल धेरै भएका स्थानहरूमा कर्णालीका बालबालिका गैरकानुनी तवरमा पुग्ने उनले बताए । उनले भने, ‘यहाँ गरिबी छ । संस्थामा राखेर पढाइदिने-लेखाइदिने प्रलोभनमा बुबाआमाले नै बालबालिकालाई टाढा पठाइरहेका छन् ।’ गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेका अनाथ आश्रममा बालबालिकाहरू जोखिममा परेकाे पनि उनी बताउँछन् ।

बालबालिका हिंसामा पर्ने, पारिवारिक पुनर्मिलन हुने सम्भावना कम हुने, विदेशीले धर्मपुत्र-पुत्री बनाएर लैजानेसमेतको जाेखिममा छन् । बुबाआमा हुँदाहुँदै पनि विभिन्न प्रलोभनमा पार्दै नक्कली कागज बनाएर अन्यत्रका अनाथालयमा लैजाने समस्या विद्यमान रहेको हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामा बताउँछन् ।

उद्धार तथा पुनर्स्थापनाका क्षेत्रमा सक्रिय रहेको यो संस्थाले हालसम्मका नेपालभरका करिब १ हजार १ सय जनाभन्दा धेरैको संख्यामा बालबालिकाको उद्धार गरिसकेको छ । हालसम्म उद्धार गरेका बालबालिकाको संख्यामध्ये ६० प्रतिशत बालबालिका कर्णाली प्रदेशका रहेको निर्देशक लामाले बताए । यसमध्ये हुम्ला, मुगु र सुर्खेत जिल्लाका धेरै बालबालिकाहरू रहेकाे उनले बताए ।

वैकल्पिक स्याहार किन ?

पारिवारिक स्याहारबाट वञ्चित भएका मात्र बालबालिकालाई वैकल्पिक स्याहारको आवश्यकता पर्छ । गरिबी देखाएर शिक्षा–दीक्षाको प्रलोभनमा बालबालिकालाई अनाथालय पुर्‍याइनु मानव बेचबिखनअन्तर्गत पर्छ । विविध कारणले बालबालिका आफ्नो पारिवारिक स्याहारबाट वञ्चित हुँदा उनीहरूलाई पारिवारिक वातावरणमै स्थापित गराइनुपर्ने परिषद्का समन्वय अधिकृत रोकाय बताउँछन् ।

जोखिममा रहेका बालबालिकालाई सर्वप्रथम उनकै आफन्तबाट नै हेरचाह गराउनुपर्ने उनले बताए । वास्तविक रूपमै अभिभावक नभएमा मात्र पारिवारिक वातावरणमा पालनपोषण, शिक्षादीक्षालगायतका वैकल्पिक स्याहार दिनुपर्ने राेकायकाे भनाइ छ । त्यसका लागि हेरचाह गर्न इच्छुक अन्य परिवार, परिवारमा आधारित संस्था र अन्तिममा मात्र बालगृहमार्फत बालबालिकाको स्याहार हुनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया