सुर्खेत विमानस्थल विस्तारको योजना ओझलेमा पर्दै

सुर्खेत।  सुर्खेत विमानस्थल विस्तारको योजना ओझलेमा पर्दै गएको छ । विगतमा लगातार प्रदेश र संघीय सरकारबाट विमानस्थल विस्तारका लागि बजेट छुट्याउने गरिएपनि पछिल्लो दुई वर्षदेखि भने उक्त योजना अलपत्र परेको हो ।

जग्गा अधिग्रहण गरेर धावनमार्ग विस्तार गर्ने योजनाबाट एक वर्षअघि मात्रै पछि हटेको कर्णाली प्रदेश सरकारले आगामी बजेटमा विमानस्थललाई प्राथमिकतामा राखेको छैन । यद्यपि, सुर्खेत विमानस्थल स्तरोन्नति गर्नका लागि संघीय सरकारसँग समन्वय र पहल गर्ने मात्रै भनिएको छ । विगतमा भने अंकसहित बजेट नै विनियोजन गर्ने गरिएको थियो । संघीय सरकारले भने सुर्खेत विमानस्थलको विकल्पमा भेरीगंगामा नयाँ विमानस्थल निर्माणका लागि अध्ययन गर्ने योजना अघि सारेको छ ।

संघीय सरकारले नयाँ विकल्प खोज्ने भनिरहँदा प्रदेश सरकार भने संघसँग समन्वय गर्ने भनेर पञ्छिएको छ । जसले गर्दा विमानस्थल विस्तारको योजना पछिल्लो समय ओझेल पर्ने देखिएको छ । यसअघि प्रदेश सरकारले नै विमानस्थलको विकल्प खोज्ने र सुर्खेत विमानस्थ विस्तारको काम अघि नबढाउने सर्वदलिय निर्णय समेत गरेको थियो । त्यतिबेला मुख्यमन्त्री जीवनबहादुर शाही थिए । उनले नागरिकको इच्छा विपरितका काम गर्न नसकिने भन्दै विकल्प खोज्ने बताएका थिए ।

यद्यपि, नयाँ विकल्प नहुँदासम्म यही विमानस्थललाई स्तरोन्नति गरिने जनाइएको छ । प्राविधिक प्रतिवेदनका आधारमा विमानस्थल स्तरोन्नतिकोे काम अघि बढाइने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । उनले भने, ‘विमानस्थल विस्तारबारे प्रारम्भिक अध्ययन भएको छ । विस्तृत अध्ययन गरेर काम अघि बढाउने हो ।’ पहिलो चरणमा सबै सरोकारवालासँग छलफल गरिने मन्त्री जिसीले बताए । सबैको सुझावका आधारमा बाँकी काम अघि बढाउने उनी बताउँछन् । विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गर्ने उनले जानकारी दिए ।

सुर्खेत जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हृदयराम थानीले सबैको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नुपर्ने बताए । नागरिकको सहजताका लागि विमानस्थलको विकल्प नरहेको उनको भनाइ छ । उनले भने, ‘सुर्खेत विमानस्थलको विकल्प छैन, स्थानीयलाई चित्तबुझ्दो मुआब्जा दिएर विस्तारको काम अघि बढाउन आवश्यक छ ।’ अन्य स्थानमा विमानस्थल सार्ने भन्दा पनि भएको विमानस्थललाई स्तरोन्नती गर्नतर्फ अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

हाल सुर्खेत विमानस्थलको १२ सय ५० मिटर रनवे छ । अब, तीन सय मिटर रनवे विस्तार गरेमा सहज रूपमा एटीआर–७२ जहाज अवतरण र उडान गर्न सकिने भएकाले विमानस्थल विस्तार गर्नु नै उपयुक्त विकल्प हुने थानीको भनाइ छ । प्रदेश सरकारले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनी बताउँछन् । उनले प्रभावित क्षेत्रका नागरिकहरूलाई उचित मुआब्जा दिएर विमानस्थल विस्तार गर्न आवश्यक देखिएकाले प्रदेश सरकारले पहल थाल्नुपर्ने बताए । विमानस्थलको विकल्पमा नयाँ विमानस्थल बनाउँदा लगानि धेरै समय पनि बढी लाग्ने भएकाले प्रभावित क्षेत्रका नागरिकहरूको हितमा हुनेगरी व्यवस्थापन गर्नुपर्ने थानीको जोड छ । अन्य स्थानहरूमा पनि आवश्यकताका आधारमा विमानस्थल विस्तार गर्न सकिने उनले बताए ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेश सरकारको विमानस्थल विस्तार गर्ने कुरा स्वागत योग्य रहेको बताए । पहिले पनि पटक–पटक विमानस्थल निर्माणको चर्चा चल्ने र सेलाउने भइरहेको हुँदा सरकारले ठोस योजना र बजेट विनियोजन गरेर काम अघि बढाउनुपर्नेमा उनको जोड छ । वर्तमान विमानस्थललाई नै विस्तार गरिनुपर्ने माग आफूहरूको रहेको उनले बताए । तीनतहकै सरकारले एउटै बोली र योजना बनाएर विस्तारको काम गर्नुपर्ने भन्दै विमानस्थल विस्तारका लागि साढे तीन सय मिटर रनवे आवश्यक रहेको बताए ।

नागरिक सरोकार समितिका अध्यक्ष टीकाराम आचार्यले मुआब्जाको सुनिश्चित गरेर विमानस्थलको विस्तार गर्नुपर्ने बताए । विमानस्थल विस्तारबारे तीन तहकै सरकारको फरक–फरक धारणा आएको उनको भनाइ छ । उनी भन्छन्, ‘संघीय सरकारले नयाँ विमानस्थल बनाउने भन्यो । प्रदेशले विस्तार गर्ने योजना बनाएको छ । स्थानीय सरकार भने दोधारमा छ ।’ प्रभावित हुने विद्यालय, समुदायको व्यवस्थापनको ग्यारेन्टी गरेर मात्र विस्तारको काम अघि बढाउन उनको सरकारलाई सुझाव छ ।

नागरिक उड्यन प्राधिकरण सुर्खेतका सूचना अधिकारी उपेन्द्र आचार्यले विमानस्थल र विस्तारबारे तत्कालै कुनै तयारी नभएको जनाए । यसबारेमा कार्यालयलाई जानकारी नआएको उनको भनाइ छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया