कर्णालीमा १८ सय लागुऔषध सेवनकर्ता, सचेतना अभियान सञ्चालन अनिवार्य गर्नुपर्ने

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा १८ सय ११ जना लागु औषध सेवनकर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डिआइजी भिम प्रसाद ढकालले आज आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको लागु औषध विरुद्धको एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले हरेक वर्ष कर्णालीमा लागु औषध कारोवारी एवम सेवनकर्ता थपिँदै गएको बताएका हुन ।

‘आर्थिक वर्ष ०७६/०७७ मा १०६ पुरुष, सात महिला प्रहरी नियन्त्रणमा आएका थिए भने ०७७/७८ मा १६४ पुरुष र ८ महिला हिरासतमा पुगेका थिए ।’ उनले भने, ‘चालु आर्थिक वर्षको हालसम्म कर्णालीका कारागारमा १५० जना पुरुष र १३ जना महिला लागु औषध कारोवार तथा सेवनको आरोपमा हिरासतमा पुगेका छन् ।’

उनले पछिल्लो समय यातायात र लागुऔषध एक अर्काको परिपुरक जस्तै भइसकेको बताएका छन् । ‘जब यातायात पुग्छ, त्यहाँ यसको कारोवार बढदै गइरहेको छ ।’ उनले भने, ‘यो नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै नहुने बताउँदै शंका लागेको खण्डमा प्रहरीलाई खबर गर्ने खालको समुदाय बनाउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’

यता, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी जितेन्द्रले अब लागु औषध नियन्त्रणका लागि आवश्यक कानून, कार्यविधि तथा योजनाहरु बनाउन ढिलो गर्न नहुने बताए ।

‘अब हामी सरुवा रोग जस्तो लागुऔषधलाई नियन्त्रण गर्न आवश्यक कानून बनाउने काम गर्छौं । यसलाई न्यूनिकरण गर्नका लागि आबश्यक संयन्त्र निर्माण गर्छौं ।’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका जिसीले भने, ‘यसको नियन्त्रण गर्न लागु औषध विरुद्ध सामाजिक अभियानकै रुपमा विद्यालय, घरपरिवार र समाजमा लैजान आवश्यक छ ।’

तपाईको प्रतिक्रिया