मदन भण्डारी राजमार्गकाे धुलियाबिट–भेडाबारी सडक निर्माणमा वन बाधक

सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको धुलियाबिट–भेडाबारी सडक (३५ किलोमिटर) निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । रुख कटानको काम ठप्प हुँदा काम अघि बढ्न नसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर रामसागर हरिजनले जानकारी दिए ।

सम्झौता गरिएको अवधि सकिनै लाग्दासमेत कामले गति लिन सकेको छैन। राजमार्गको स्तरोन्नतिका लागि २०७८ असार २८ गते ठेक्का सम्झौता गरिएको थियो । २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको थियो । इन्जिनियर हरिजनले भने, “आयोजनाले वन विभागसँग रुख कटानका लागि प्रक्रिया अघि बढाएको छ । त्यसपछि कामको भौतिक प्रगति देखिने छ ।”

सडक निर्माणमा वन क्षेत्र भने बाधा बनेको छ । धुलियाबिट–भेडाबारी सडकखण्डको गङ्गटे खोलादेखि बडीपाटीसम्म चार किलोमिटर वन क्षेत्र पर्दछ । उक्त स्थानमा स्तरोन्नतिको काम सुरु हुन सकेको छैन । प्रक्रियागत ढिलाइले काममा असर पुगेको इन्जिनियर रामसागर हरिजनले बताए । सडक निर्माणका लागि वन क्षेत्रका रुख काट्नुपर्ने हुन्छ ।

सडक निर्माण क्षेत्रभित्र रहेका एक हजार चार सय रुख काट्नुपर्ने देखिएको छ । ती रुखलाई काट्नका लागि टाँचा लगाइसकिएको छ । सडकको आफ्नो क्षेत्रभित्र पर्ने भए पनि सार्वजनिक जग्गामा रहेका रुख कटानका लागि अनुमति आइसकेको छैन । अनुमति आउनेबित्तिकै काम सुरु गरिने आयोजनाले जनाएको छ । रुख कटानको प्रक्रिया लामो हुँदा काममा केही ढिलाइ भएको कार्यालयको भनाइ छ । त्यसै गरी झुप्राखोलादेखि वीरेन्द्रनगरसम्म करिब चार किलोमिटर वन क्षेत्र रहेको छ। उक्त क्षेत्रमा समेत काम सुरु हुन नसकेको हो ।

१२ पुल निर्माण हुने

राजमार्गको धुलियाबिट–भेडाबारी सडकखण्डमा १२ वटा पक्की पुल निर्माण गरिने भएको छ । जसमध्ये आठ वटा पुलको फाउन्डेसन खन्ने कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । अबको एक महिनामा पाँच वटा पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको इन्जिनियर हरिजनले जानकारी दिए । उनका अनुसार १२ वटै पुलको काम सुरु भइसकेको छ ।

कच्ची र जीर्ण सडकका कारण यस क्षेत्र आसपासका बासिन्दाले दशकौँदेखि सास्ती खेप्दै आएका छन् । यो रुटमा बर्खामा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । धुलियाबिट–भेडाबारी सडकको विसं २०३६ सालमै ट्र्याक खोलिएको थियो । सडक निर्माण थालेको चार दशकपछि मदन भण्डारी राजमार्ग नामकरण गरी सुधारको काम अघि बढेको हो । सडक स्तरोन्नतिको काम सम्पन्न भए यहाँ बाह्रै महिना यातायात सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ ।

मदन भण्डारी राजमार्गको धुलियाबिट–भेडाबारी सडकखण्ड निर्माणमा ४१ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाबिट–भेडाबारी सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भेडाबारी सडकखण्ड नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने भएको छ । स्तरोन्नति गर्दा झन्डै ५२ प्रतिशत सडक चौडाइ बनाइने जनाइएको छ ।

डिपिआर अनुसार धुलियाबिट–भेडाबारीसम्म ३५ किलोमिटर स्तरोन्नति हुने छ । हालसम्म राजमार्गको १२ किलोमिटर सडक ग्राभेल भइसकेको छ । ग्राभेल भइसकेको सडकमा कालोपत्रेको काम अघि बढाइएको छ । हाल नाला निर्माण, टेवा पर्खाल निर्माण, स्ट्रक्चरको काम भइरहेको छ । वन क्षेत्रबाहेक अन्य स्थानमा काम धमाधम भइरहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया