वीरेन्द्रनगरमा वर्षातमै खानेपानी छैन् धारा छन् सुख्खा

सुर्खेत। हिउँद र गर्मीयाममा खानेपानीको संकट भोग्दै आएका वीरेन्द्रनगरका नागरिकले वर्षात्को समयमा पनि अभाव झेल्नु परेको छ । पछिल्ला दिनहरूमा नियमित वर्षात् भइरहेको छ, तर वीरेन्द्रनगरवासीको धारामा पानी आइरहेको छैन । वीरेन्द्रनगर–१ की लिला खड्काले खानेपानीको अभाव थप चुलिएको बताइन् । उनका अनुसार गर्मीयाममा ६ दिनको एकपटक पानी आउने गरेको थियो । अहिले दश दिन भयो धारामा खानेपानी आएको छैन । भन्छिन्, ‘अहिले त धारामा एक थोपा पानी आउँदैन । नजिकै खानेपानीका मुहान छैनन् । किनेर पानी खान परिरहेको छ ।’

वीरेन्द्रनगर–४ का भीम थापाको धारामा पानी नआएको नौ दिन भयो । असार ११ गते उनको धारामा लेदोसहित पानी आएको थियो । त्यसपछि पानी आएको छैन । हिउँद, वर्षा र गर्मीयाममा खानेपानीका लागि निकै सास्ती भोग्नु परिरहेको उनको भनाइ छ । थापाले भने, ‘हामीलाई बाह्रै महिना खानेपानीको समस्या हुनेगरेको छ । वर्षात्मा भल पसेर पानी खान नमिल्ने हुन्छ । अहिले त धारामा पानी नै आएको छैन ।’ पानीका अन्य स्रोत नहुँदा बजारबाट किनेर पानी खान परिरहेको उनको भनाइ छ ।

वीरेन्दनगरकै वडा नं। ३ की लक्ष्मी रानाले वर्षात् भएपछि थप खानेपानीको समस्या चुलिएको बताइन् । ‘गर्मीयाममा कुवाको पानी खान मिल्थ्यो’ उनले भनिन्, ‘भल पसेर कुवाको पानी खान मिल्दैन । झुप्राखोलाको पानी धारामा नआएको दश दिन हुन थाल्यो ।’ किनेर पानी खान परिरहेको भन्दै उनले स्थानीय सरकार नागरिकको आधारभूत आवश्यकतामा उदासीन बनेको बताइन् । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा पानीका स्रोत कम र माग अत्यधिक हुँदा खानेपानीको समस्या दिनानुदिन चुलिँदै गएको छ ।

पहिरोले आपूर्ति अवरुद्ध

पहिरोले पाइप बगाउँदा नौ दिनदेखि वीरेन्द्रनगरका बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् । वीरेन्दनगर–११ को भञ्ज्याङमा पहिरोले खानेपानीको पाइप बगाउँदा मर्मतको काम भइरहेको सुुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले जानकारी दिए । उनका अनुसार ठाउँ–ठाउँमा गएको पहिरो पञ्छाउने र पाइप मर्मतको काम भइरहेको छ । थप वर्षाले अवरोध नगरे बिहीवारदेखि पालो अनुसार पानी वितरण सुरु गरिने उनले जानकारी दिए । उनले भने, ‘हामी निरन्तर मर्मतमा खटिएका छौँ । ११ गतेको वर्षाले क्षति गरेको छ । पहिरो गइरहेको छ ।’

कार्यालय प्रमुख गौतमका अनुसार ठाउँ–ठाउँमा सडक खन्दा निर्माण समितिले जंगलमा ढुंगामाटो फालेका कारण पहिरो गएको हो । गत वर्षहरूमा पनि सडक खन्ने क्रममा फालेका ढुंगामाटोसँगै पहिरो जाँदा पाइप बगाएका कारण वर्षात्को समयमा पानीको हाहाकार भएको थियो । अनधिकृत रूपमा सडक खन्ने कार्यले खानेपानीमा असर पार्दै आएकाले आउँदा दिनमा सडक खन्दा निस्केको ढुंगामाटो अन्यत्र फाल्नुपर्ने सुझाव उनको छ ।

वर्षाको समय सुरु भएसँगै पानीका संरचनाहरूमा भल पसेर क्षति पुगिरहेको छ । उपत्यकाका मुख्य खानेपानीका स्रोत झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला हुन् । पानीको मुख्य स्रोत नै पहिरोले अवरुद्ध गरेको हो । सुख्खायाममा खानेपानी खपत बढी र स्रोत कम हँुुदा समस्या हुन्छ भने वर्षायाममा समेत बाढी पहिरो र भलले खानेपानी सेवा अवरुद्ध हुने गरेको हो ।

वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार पाँच सय धारामार्फत खानेपानी सेवा दिइरहेको छ । सीमित स्रोतका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन हम्मेहम्मे परिरहेको कार्यालयले जनाएको छ । वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेण्ड तीन सय २० लिटर खानेपानी आवश्यक पर्छ । अहिले एक सय ६३ लिटर प्रतिसेकेण्ड पानीको अभाव हुुने गरेको छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया