सुर्खेत । मुगु जिल्लामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख माथि नेकपा एमाले प्रदेश कमिटि सदस्य एवम पूर्व सांसद दानसिंह परियार र छायानाथ रारा नगरपालिका वडा नं. ६ का वडाअध्यक्षले काम गरेको भन्दा बढि भुक्तानी नदिएको बताउँदै कार्यालय प्रमुखमाथि सांघातिक आक्रमण गरेका छन् ।
शनिबार दिउसो साढे चार बजे कार्यकक्षमा काम गरिरहेका पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख दत्त बुढ थापामाथि उनिहरुले सांघातिक आक्रमण गरेका हुन ।
कार्यालयले अन्य पालिकाको झुत्तानी दिई नगरपालिकाका दुई ओटा वडाको अनुगमन गरेर रनिङ्ग विलको आधारमा भुक्तानी दिने तयारी गरेको समयमा सांसद परियार उनको कार्यकक्षमा आएका थिए । पूर्वाधार विकास कार्यक्रम अन्र्तगत वडा नं.६ मा रहेको माथिवालै देखि पातीहाल्ना सडकमा चालु आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरिएको थियो ।
उक्त बजेटको उपभोक्ता समितिको अध्यक्ष वृषबहादुर भाम रहेका थिए । कार्यालयले गरेको मुल्यांकन अनुसार उक्त सडकको जम्मा ११ लाख भुक्तानी दिनुपर्ने थियो । अर्थात झण्डै ३९ लाख रकम फ्रिज हुने थियो ।
यस्तै, सोही नगरपालिकामा सोही कार्यक्रमबाट ५० लाख बजेट रहेको खडकधारा देखि रिगामाडु सडक पनि निर्माण भइरहेको थियो । यो सडकको पनि कार्यालयले मूल्यांकन गर्दा जम्मा ३२ लाख बराबरको काम भएको कार्यालयले जानकारी दियो । तर, परियारले भने विगतमा पचास लाखको रकम पुरै भुक्तानी हुने गरेको बताउँदै कार्यालय प्रमूखलाई पुरै रकम भुक्तानी दिन दवाव दिएका थिए ।
‘पहिलेका कर्मचारीले बढाएर पैसा दिने गर्थे, तपाई पनि त्यस्तै गर्नुस ।’ दानसिंहको भनाईलाई उदृत गर्दै थापाले भने, ‘मैले त्यस्तो गर्न सक्दिन भन्दा उनिहरुले मलाई आक्रमण गरे ।’ उनका अनुसार सुरुमा वडाअध्यक्ष रावलले आक्रमण गरेका थिए भने त्यसपछि परियारले समेत आक्रमण गरेका हुन ।
‘मैले जिल्ला प्रहरी कार्यालय मुगुमा समेत उजुरी दिइसकेको छ । मन्त्रालयका सचिव देखि प्रमूख जिल्ला अधिकारीलाई समेत जानकारी दिइसकेको छु ।’ उनले भने, ‘अब थोरै योजनाको अनुगमन गरेर भुक्तानी दिन बाँकी छ । त्रासमय अवस्थामा म कसरी अनुगमन नगरेरै भुत्तःानी दिउँ ?’
आफ्नो परिक्षण काल रहेको बताउँदै काम भए अनुसारको भुक्तानी दिन तयार भएको भएपनि जर्वजस्ती कामै नभएको रकम भुक्तानी दिन नसक्ने उनको भनाई छ । यता, हिजो कार्यालयमा आक्रमण भइसकेपछि जिल्ला प्रहरी कार्यालय मुगुले दुवै जनालाई राती दश बजेसम्म नियन्त्रणमा लिएको थियो ।
‘कार्यालय प्रमुखले जाहेरी दिइसकेपछि दुवै जनालाई हामीले नियन्त्रणमा लिएका थियौं ।’ नाम उल्लेख नगर्ने शर्तमा मुगुमा कार्यरत एक प्रहरीले भने, ‘सिडियो सावले मिलेर जानुपर्छ भनेपनि म त्यहाँ बसुन्जेल अर्थात राती दश बजेसम्म दुवै जना जिप्रकामै थिए । त्यसपछि उनिहरुलाई डिएसपी सावले छोडनु भयो वा भएन जानकारी भएन ।’
यसको आधिकारिकता पुष्टि गर्न प्रमुख जिल्ला अधिकारी र डिएसपिलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । पूर्व सांसद दानसिंह परियारलाई फोन सम्पर्क गर्दा उनको दुवै नम्बर अफ छ । यता, कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी भिम प्रसाद ढकालले आफूलाई त्यसबारेमा जानकारी नभएको बताए । ‘उनिहरु थुनामै छन कि, वा के भएको हो म बुझेर खबर गर्छु ।’ उनले भने ।
शेर बहादुर थापा । २०८० असार २४, आईतवार