सुर्खेत । जुम्लामा नुन सहजै नपाएको भन्दै त्यहाँका स्थानीयले डिपोमा तोडफोड गरेका छन् । स्थानीयले अहिले पनि नुन वितरणमा सहज नभएको भन्दै लाइनमा लागेका व्यक्तिहरूले डिपोमा ढुङ्गामुढा गरेका हुन् ।
नेपाल साल्ट ट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा नै ढुङ्गामुढा भएको जानकारी दिए । साउने सङ्क्रान्तिको समयमा नुन लिन आएका नागरिकले नुन सहज रूपमा नपाउँदा आक्रोश पोखेको स्थानीयले बताएका छन् । उनीहरूले सरकारले नागरिकलाई नुनसमेत राम्रोसँग दिन नसकिरहेको आरोप लगाउँदै आएका छन् ।
नुनको कमीका कारण यसभन्दा पहिले हरेक लाइनमा लागेका व्यक्तिलाई ३ प्याकेट दिने गरिएको थियो तर यस पटक नुन थपिएपछि लाइनमा लागेका प्रतिव्यक्ति ५ प्याकेट वितरण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन बाँडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको जानकारी प्राप्त भएको बताए । उनले अब नुन वितरण प्रणाली वडाबाटै गर्नेगरी चाँडै काम अगाडि बढाइने जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार नुनको अभाव खासै नभएको तर व्यवस्थापनका विषयमा ध्यान दिन ढिलाइ भएकाले स्थानीय तहले यस विषयमा जोड दिन आवश्यक छ ।
नेपालीरैबार । २०८० श्रावण १, सोमबार