सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले आर्थिक वर्ष २०७९/०८० मा आफ्नै श्रीमान देखि देवर हुदै छाेरासम्म लाई विभिन्न उपभोक्ता समिति बनाएर वा कामको जिम्मा दिएर आधा करोड भन्दा बढिका विभिन्न आयोजनामा काम दिलाएको खुलेको छ ।
उनले आफ्नै छोरा नविन शाहीलाई गाउँपालिकाको वडा नं. पाँचमा भट्टराई टोलमा वाटो मर्मत योजनाको जिम्मा दिएकी थिईन । यो योजनाका लागि वडाबाट चार लाख बजेट विनियोजन भइ भुक्तानी दिलाई सकेकी छिन् । योजनामा उनले कुल २३ ओटा मात्रै जाली राखेर रकम भुक्तानी लिएको पाइएको हो ।
उनका श्रीमान नन्द बहादुर शाही ‘घमन’ र छोरा नविनले प्रशम खोला देखि गाउँपालिकाको केन्द्र जोडने सडक निर्माण गर्न आफैंले डोजर लिएर काम गराई भुक्तानी लिएका हुन । उनी नेपाली काँग्रेस कालिकोटका जिल्ला कार्यसमितिका उपसभापति समेत हुन । उनका छोरा नविन शाही यो सडक आयोजनाको उपभोक्ता समितिको अध्यक्ष समेत हुन ।
प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर शाहीका अनुसार उपभोक्ता समिति अध्यक्ष शाहीलाई १९ लाख बराबरकाे भुक्तानी दिएको बताए ।
यस्तै, उनका छोरा नविन शाहीले गाउँपालिकाको पोषणमैत्री गाउँपालिका कार्यक्रम अन्र्तगत ६ लाख रुपैंया विनियोजन भएको थियो । उनले पोली हाउस खरिद भनेर बजेटको भुक्तानी का लागि भनेर सामान खरिद गर्न पालिकाबाट ६ लाख रुपैंया भुक्तानी लिएपनि हालसम्म सामान वितरण नगरेको पाइएको हो ।
सोही वडामा साँझबारे धम्फाला हुँदै अधिकारी वाडा सुनार गाउँ खानेपानी योजनाको उपभोक्ता समितिको सचिवमा उनकै देवर सिंह बहादुर शाही नियुक्त गरेर १५ लाख बराबरको योजनाको भुक्तानी लिएको पाइएको छ । यो योजनामा शाहीले नौ लाख रुपैंया भुत्तःानी लिएका छन् ।
प्रशम खोला देखि डाँडावाडा सम्म पिसिसि कुलो प्रदेशको योजनामा १५ लाख रुपैंया बजेट विनियोजन भएको थियो । यो योजनामा पनि उनले आफ्नै देवर कृष्ण बहादुर शाहीलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गराएकी हुन ।
यस्तै, २० लाख बजेटमा सोही वडामा रहेको सरस्वती आधारभुत विद्यालयको भवन निर्माण योजना परेको थियो । यो आयोजना सम्पन्न गर्न उनले उपभोक्ता समितिमा देवर कमल बहादुर शाहीलाई अध्यक्ष बनाएर काम गराएको रहस्य खुलेको हो । यसमा साढे सत्र लाख रुपैंया भुक्तानी लिएका छन् । यद्यपी यहाँ भने काम जारी रहेको छ ।
प्रसम खोला देखि अधिकारी वाडा खानेपानी आयोजनाका लागि वडा कार्यालयले गत आर्थिक वर्षमा पाँच लाख रुपैंया बजेट विनियोजन गरिएको थियो । सो बजेट कार्यान्वयन गर्न उपाध्यक्ष शाहीले आफ्नै देवर डम्बर शाहीलाई सचिवको रुपमा कामको जिम्मा दिएकी थिईन ।
स्यानीटरी प्याड खरिदमा १७ लाख बजेट विनियोजन भएकोमा उनकै देवर राराकाटिया माविमा करार शिक्षक वीरेन्द्र शाहीलाई गाउँ पालिकाको विद्यालय निरीक्षक बनाएर दश लाखमा खरिद गर्ने जिम्मा दिइएको खुलेको हो । स्यानीटरी प्याड खरिद गर्न गाउँपालिकाले कोटेशन पनि गुपचुपमा शाहीलाई दिएको पाइएको हो ।
यहाँको स्यानीटरी प्याड खरिदमा आर्थिक वर्ष २०७८/०७९ मा पनि यहि प्रवृत्ति दोहो¥याइएको थियो । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।
यसबारेमा कुराकानी गर्दा गाउँपालिका उपाध्यक्ष शाहीले गाउँमै आएर बुझ्न र फोनबाट कुरा नसोध्न अनुरोध गरिन । ‘तपाईहरु बुझ्ने भए फोनमा कुरा नगर्नुस, गाउँमा आउनुस ।’ उनले भनिन् ।
शेर बहादुर थापा । २०८० श्रावण २, मंगलवार