काठमाडौँ । नेपाली काँग्रेस रूपान्तरण अभियानको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाइएको हो ।
पार्टी कार्यालयमा कार्यबाहक मुख्यसचिवमार्फत् प्रतिवेदन दर्ता भएको छ । काँग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाएका थिए ।
प्रतिवेदन पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पनि बुझाइने छ । केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तरण अभियान चलाएका थिए ।
कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दिएको छ । प्रतिवेदनमा १४औँ महाधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन जतिसक्यो चाँडो गर्न सुझाइएको छ ।
पार्टीको सैद्धान्तिक, वैचारिक मौलिकताको रक्षा गर्नुपर्ने, समयसापेक्ष, स्पष्ट र जनमुखी नीति निर्माण गर्नुपर्ने, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्यलाई राष्ट्रिय संकल्प बनाउनुपर्ने, पार्टी सदस्यता प्रणालीलाई खुला, सहज र पारदर्शी बनाउनुपर्ने, पार्टीका सबै तहले विधानमा तोकिए बमोजिमका काम, कर्तव्य र अधिकारको पूर्ण पालना गर्ने लगायतका २१ बुँदे एजेन्डा समेटिएको छ ।
नेपालीरैबार । २०८० श्रावण ३, बुधबार