दैलेखको कोटिलामा पञ्चकोशी मानवनिर्मित ताल निर्माण हुने

सुर्खेत । दैलेखको कोटिलामा पञ्चकोशी मानवनिर्मित  ताल निर्माणका लागि लगानी जुटाउन पहल थालिएको छ । नारायण नगरपालिका–१ र ९ र दुल्लु नगरपालिका–११ को सिमानामा निर्माण गर्न लागिएको तालका लागि लगानी जुटाउन पहल थालिएको हो ।

पुनः डिपिआर गरेर ताल निर्माणको काम अघि बढाउनुपर्ने भएकाले सोही अनुसार लगानी जुटाउन पहल भइरहेको छ । गौरवको आयोजनाका रूपमा हेरिएको पञ्चकोशी ताल निर्माणका लागि विभिन्न क्षेत्रका दातृ निकायसँग समेत छलफल भइरहेको जनाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ताल निर्माणका लागि आवश्यक सहयोग माग गरिएको प्रतिनिधि सभा सदस्य अमरबहादुर थापा जानकारी दिए । सांसद थापाका अनुसार नारायण नगरपालिकाले गरेको डिपिआरको काम पूर्ण छैन । पुनः डिपिआर गरेर काम अघि बढाउनुपर्ने छ । ताल निर्माणका लागि ठुलो लगानी लाग्ने भएकाले बाह्य लगानीका विषयमा समेत छलफल भइरहेको छ ।

पर्यटन प्रवर्धनका लागि सम्भावनाका रूपमा हेरिएको आयोजना अघि बढाउन आवश्यक रहेकाले सबै क्षेत्रको सहयोग आवश्यक हुने थापाले बताए । नारायण नगरपालिका दैलेखले मानवनिर्मित ताल निर्माणका लागि २०७५ सालमा ३३ लाख रुपियाँ खर्चेर डिपिआर तयार गरिसकेको छ ।

नगरपालिकाका इन्जिनियर पूर्णप्रसाद कोइरालाका अनुसार ताल निर्माणलाई लक्षित गरी गत वर्ष प्रदेश सरकारको दुई करोड लगानीमा बाटोको स्तरोन्नति गरिएको छ । नगरपालिकाले बनाएको डिपिआरमा ताल निर्माणका लागि दुई अर्ब छ करोडको लागत अनुमान छ । ससाना खोल्सामा तटबन्ध निर्माणको काम भने भइरहेको छ ।

ड्याम निर्माण, जग्गा अधिग्रहण, पुल निर्माण गर्नुपर्ने छ । ताल वरिपरि चार किलोमिटर रिङरोडको अवधारणासमेत छ । डिपिआर अनुसार १२७ मिटर लम्बाइ र १५ मिटर उचाइमा बाँध बाँधेर ५४ हेक्टर क्षेत्रफलमा करिब चार सय करोड लिटर पानी जम्मा गर्ने गरी ताल बनाउन लागिएको हो ।

नारायण नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत पञ्चकोशी मानवनिर्मित ताल निर्माणको योजना समावेश गरेको छ । धेरै लगानी लाग्ने भएपछि लगानी जुटाउन छलफललाई तीव्रता दिएको नगर प्रमुख लोमन शर्माले बताए । उनले नगरपालिका आफैँले यो काम सम्भव नहुने भएपछि लगानी जुटाउन पहल थालेको र ताल निर्माणको योजना अघि बढाउन विभिन्न क्षेत्रसँग छलफल भइरहेको जानकारी दिए ।

प्रदेश र सङ्घीय सरकारसँग समेत आयोजनालाई अघि बढाउन मागपत्र पेस गरिएको छ । प्रदेशमा मुख्यमन्त्री र सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मागपत्र पेस गरिएको जनाइएको छ । नगरपालिकाले पहिलो गौरवको आयोजनाका रूपमा पञ्चकोशी मानवनिर्मित ताल निर्माणलाई राखेको छ । ताल निर्माणका लागि डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सकिएको छ ।

पर्यटन प्रवर्धन गर्नका लागि कोटिलामा पञ्चकोशी मानवनिर्मित ताल निर्माण गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य छ । नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्र खड्काले पर्यटन प्रवर्धनका लागि ताल निर्माण आवश्यक हुने बताए ।

पञ्चकोशी तीर्थस्थललाई प्रचारप्रसार गर्ने गरी नारायण नगरपालिकाले उक्त अवधारणा अघि सारेको हो । उनका अनुसार श्रीस्थान, नाभिस्थान, कोटिला, पाधुका, धुलेश्वरलगायत गन्तव्यमा आउने पर्यटकलाई लक्षित गरी ताल निर्माण गर्न थालिएको हो । पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न मानवनिर्मित तालको अवधारणा अघि सारिएको दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया