भारतकाे उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी र उद्धार गरिदिन आग्रह

काठमाण्डौँ । सरकारले उत्तराखण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी र उद्धार गरिदिन भारत सरकारसँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आग्रह गरेका हुन् ।

रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परि १९ जना बेपत्ता भएकामा धेरै नेपाली नागरिक रहेका अनुमान छ । मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग आज बिहानैदेखि बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको बताए ।

मौसम खुल्नासाथ आफूले प्रभावित क्षेत्रको भ्रमण गर्ने पनि मुख्यमन्त्री धामीले जानकारी दिए । बेपत्ता नेपालीको खोजी भइरहेको नयाँदिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

केदारनाथधामको पैदलमार्ग शुरु हुने ठाउँमा खसेको पहिरोमा परेका नेपाली र भारतीयमध्ये तीनजनाको शव फेला परेको छ । मृतकमध्ये दुई जना नेपाली हुन् । नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै परिचय खुल्न सकेको छैन ।

पहिरोमा १६ जना नेपाली बेपत्ता भएका अनुमान गरे पनि यकिन सङ्ख्या प्राप्त नभएको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ काम गर्ने नेपालीहरुका अनुसार जुम्ला, हुम्ला र कालीकोटका गरी १६ जना बेपत्ता भएका अनुमान छ ।

तपाईको प्रतिक्रिया