देशव्यापी रुपमा अविरल वर्षा

उद्धार तथा राहतका लागि सुर्खेतमा सेनाको हेलिकोप्टर तयारी अवस्थामा

सुर्खेत ।  शनिबार बिहानैदेखि देशव्यापी रुपमा भएकाे अविरल वर्षाका कारण बाढीपहिरो र डुबानका घटना सुरु भएकाले सरकारका सबै निकायलाई सतर्क बनाइएको छ । गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकाय उच्च सावधानीमा छन् ।

नेपालमा शनिबार बिहानैदेखि देशव्यापी रूपमा मनसुन पूर्ण सक्रिय भएकाले सबैतिर मध्यमदेखि ठुलो वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार भीषण वर्षाको सम्भावनासहितको पूर्वसूचना जारी गरेको थियो ।

विपत् आइपरेको खण्डमा तत्काल उद्धार तथा राहतका लागि सुर्खेत लगाएत इटहरी, भरतपुर र पोखरामा सेनाको हेलिकोप्टर परिचालन गरेर उद्धार गर्न तयारी अवस्थामा राखिएको छ ।

सातै प्रदेशमा उद्धार तथा तत्काल राहतका लागि आवश्यक डुङ्गा, डोरी, टेन्टलगायतका उद्धार सामग्री तथा राहत सामग्री भण्डारण गरिएको छ । जिल्लास्थित विपत् व्यवस्थापन समितिलाई आफ्नो जिल्लामा सम्भावित विपत्का लागि तयारी थाल्न भनिएको छ ।

यस वर्षाले मध्यनेपालका पहाडी भूभागमा विपत्को सम्भावना देखाएकाले पनि ती क्षेत्रका सम्भावित जोखिम क्षेत्र पहिचान गरेर उच्च सतर्कता अपनाइएको छ । विगतमा पहिरो गएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने, सम्भावित पहिरो जाने स्थानको राति पनि बारम्बार रेकी गर्ने र भेलपहिरोको सम्भावना भएका पहाडी भेगका बासिन्दालाई आलोपालो गरेर सतर्कता अपनाउने गरी सजग बनाइएको छ ।

पहाडमा धेरै वर्षा हुँदा तराईमा क्षति बढी पुग्ने भएकाले त्यहाँ पनि सुरक्षाको पहल गरिएको छ । तराईमा वर्षा हुँदा त्यहाँबाट डुबान हुन्छ तर पहाडमा वर्षा भयो भने त्यसको असर पहाड र तराई दुवैमा पर्ने भएकाले पनि दुवैतिर ध्यान केन्द्रित गर्नुपर्ने अवस्था छ ।

यता जल तथा मौसम विज्ञान विभागका अनुसार सातै प्रदेशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ । शनिबार बिहानैदेखि देशव्यापी वर्षा सुरु भएकाले ठुला तथा साना नदीको बहाव बढेको छ । बाढी पूर्वानुमान शाखाले काठमाडौँलगायत धेरै क्षेत्रमा भीषण वर्षाको रेकर्ड भएकाले ती क्षेत्रका नदीनालाको बहाव बढ्दै गएको औँल्याएको छ । यो क्रिम सोमबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस पटकको वर्षाको परिणामस्वरूप ठुला नदीहरू नारायणी, कर्णाली, बागमती, पूर्वीराप्ती, पश्चिमराप्ती, बबई, महाकाली, कोशीलगायत र तिनका सहायक नदीमध्ये केहीले सतर्कता तहको खतरा पार गर्न सक्ने सम्भावना छ ।

तपाईको प्रतिक्रिया