बबई, भेरी र कर्णाली नदी बस्तीमा पस्ने खतरा, सतर्क रहन आग्रह

तटिय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनको अनुरोध

सुर्खेत । गए रातिदेखि कर्णाली प्रदेशका विभिन्न जिल्लामा निरन्तर भारी वर्षा भईरहेको छ । मौषस पूर्वानुमान शाखाका मौषमविद सञ्जिव अधिकारीका अनुसार आज र भोलि कर्णालीका विभिन्न जिल्लामा मध्ययम देखि भारी वर्षा हुने सम्भावना रहेको छ ।

भारी वर्षासँगै कर्णाली, भेरी र बबई नदी तटिय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन सुर्खेत प्रशासनले आग्रह गरेको छ ।  सुर्खेत बाढी, पहिरो र अन्य नौं जिल्ला पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरु हुन् । सुर्खेतका आठ पालिका भेरी, कर्णाली र बबई नदीको उच्च जोखिमा छन्, भने एक पालिका बाढी र पहिरोको उच्च जोखिमा रहेका छन् । निरन्तरको वर्षाले यी तीन नदीमा पानीको बहाव बढ्न थालेपछि सतर्क रहन प्रशासनको आग्रह छ ।

विपद्प्रति कार्यका लागि तयारी अवस्थामा रहेको उल्लेख गर्दै कहिकतै बाढी पहिरोजन्य घटना घटेको खण्डमा यथासिघ्र सम्बन्धित पालिका, प्रहरी वा प्रशासनलाई जानकारी गराउन सुर्खेत प्रशासनले अनुरोध गरेको छ ।

यता कर्णाली प्रदेश सरकारले पनि विपद्पूर्व र विपद्पछिको खोज उद्दार, राहत र पुनरस्थापनाका लागि तयारी अवस्थामा रहेको बताएको छ ।

सरकारले चालु आर्थिक वर्षमा विपद् पुर्वतयारीका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० अनुसार तयारी अवस्थामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत रहेको विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिए ।

विपद् पूर्व प्रभावित क्षेत्रमा विभिन्न खालका जनचेता जगाउने तथा विपद्पछि खोज, उद्दार, राहत र पुनरस्थापनाका लागि प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीन वटै सुरक्षा निकाय तथा रेडक्रसको उद्दार टोली हेलिकप्टरसहित तयारी अवस्थामा रहेको रोकायाको भनाई छ । विपद्पछि हुनसक्ने सम्भावित क्षतिको पूर्वानुमान गरी विभिन्न विकास साझेदारहरुसँगको समन्वयमा राहत तथा उद्दार सामाग्रीसमेत तयारी अवस्थामा राखिएको अधिकृत रोकायाको भनाई छ ।

यसै बिच वर्षाका कारण कर्णालीका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण आएको बाढीले कर्णाली राजमार्ग, कोहलपुर–सुर्खेत, सुर्खेत–दैलेख, छिन्चु–सल्यान लगायतका सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकहरु खुलाउने प्रयास भइ रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया