कर्णालीमा नियमित जहाज उडाई दिन संघ सरकारसँग गुहार माग्दै प्रदेश सरकार

सुर्खेत । कर्णालीका हिमाली तथा दुर्गम पहाडी जिल्लामा नियमित हवाई सेवा सुचारु गरिदिन प्रदेश सरकारले संघीय सरकारसँग गुहार मागेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले साउन १२ गते हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न भन्दै विशेष गरी दुर्गमका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि व्यावसायिक÷चार्टर उडान गर्न नपाइने नियम लागु छ ।

उक्त निर्णयले कर्णालीका हुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाका नागरिकहरु मारमा परेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथातावरण मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई नियमित हवाई सेवा सुचारुका लागि पहल गरिदिन अनुरोध गरेको हो ।

कर्णालीका अधिकांश हिमाली तथा पहाड़ी दुर्गम जिल्लाहरुमा भरपर्दो सडक सञ्जाल नभएको र वर्षाको समयमा सडक अवरुद्ध भैरहने तथा यातायातको प्रमुख साधन हवाई उडान नै भएकोले कर्णालीमा अत्यावश्यक तथा आकस्मिक खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा प्रवाह, प्राकृतिक प्रकोपबाट पिडीत नागरिकको उद्दार लगायतका सेवा उपलब्ध गराउन कठिनाई भइरहेको मन्त्रालयले जनाएको छ ।

प्राधिकरणको साउन १२ गतेको निर्णयले पर्यटन व्यवसायमा समेत प्रतिकूल प्रभाव परेको पत्रमा उल्लेख छ । अपरेशन आवरको समयभन्दा अघिपछि विशेष गरी जुलाई, अगस्ट र सेप्टेम्बर सम्मको अवधिमा अतिरिक्त समयमा उडान सञ्चालन गर्न अनुमित नदिने निर्णयले कर्णालीका जनताको दैनिक जीवनयापनमा कष्टकर हुँदै गएको उल्लेख गर्दै मन्त्रालयले प्राधिकरणको निर्णय उपर विचार गरी मौसमको अनुकूलताका आधारमा नियमित हवाई सेवा सुचारुमा पहल गरिदिन प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया