नागरिक उड्डयनको गलत निर्णयले कर्णालीमा निम्त्याएको जोखिम

सुर्खेत ।  हुम्ला सिमकोट–६, माथिल्लो गाउँका सुरज चुनारका ६ महिने छोरा इमरानलाई १४ साउनमा सामान्य पखलाले च्याप्यो । चुनाराले छोरालाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला पुर्‍याए ।

चार दिनसम्म उपचार चल्यो । पखला निको हुँदै गयो । तर, कडा खालको निमोनियाले च्याप्न थाल्यो । कडा खालको निमोनिया बढ्दै गएपछि १८ साउनमा जिल्ला अस्पताल हुम्लाले इमरानलाई नेपालगञ्ज लैजान सुझायो ।

सडक यातायातको सहज पहुँच नपुगेको हुम्लाका सुरज चुनाराले निमोनिया, झाडापखाला र रुघाखोकीपीडित छोरा इमरानलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने जोडजाममा जुटे ।

आर्थिक अवस्था कमजोर भएका सुरजले जसोतसो ३० हजार खर्च जोहो पनि गरे । तर, नौ दिनसम्म पनि जहाज आएन । छोरालाई दिनानुदिन अफ्ठ्यारो हुन थालेपछि जहाज आउँछ कि भनेर सुरज हरेक बिहान ६ बजे सिमकोट विमानस्थल पुग्थे । तर, उनका छोराई लिन जहाज भने कहिल्यै आएन ।

यति मात्रै होइन सुरजलाई प्रकृतिले पनि साथ दिएन । बिहानको समयमा कहिल्यै मौसम खुलेन । दिउँसो १२ बजेपछि खुलेको आकाशमा कहिल्यै जहाज आएन । नौ दिनसम्म छोराको चित्कार हेरेर थकित बनेका सुरजले२६ साउनमा नाबालक छोरा गुमाए ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका लागि हवाई सेवा निर्विकल्प बन्दा सुरजले छोरा गुमाउनुपर्‍यो । इमरानलाई जटिल खालको निमोनिया भएकाले थप उपचारका लागि आईसीयू आवश्यक पर्ने भएपछि अस्पतालका डा। रोशन रावतले जिल्लाबाहिर लैजान सुझाएका थिए ।

जिल्ला अस्पताल हुम्लामा आईसीयू, भेन्टिलेटर र एनआईसीयूसहितको उपचार सेवा छैन । जिल्लामा गतिलो उपचार सेवा नहुनु र थप उपचारका लागि नेपालगञ्ज पुर्‍याउन जहाज नआउनु सुरजले छोरा गुमाउनुको कारण बन्यो ।

छोरालाई नयाँ जीवन दिन अथाह प्रयास गरेका सुरज नेपाल नागरिक उड्यन प्राधिकरणको अव्यवहारिक निर्णयले आफ्नो छोरा गुमाउनुपर्दाको पीडा व्यक्त गर्न सक्ने अवस्थामा छैनन् ।

‘डाक्टरले जिल्ला बाहिर लैजानु भन्नुभएको थियो । नेपालगञ्ज लगेपछि बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो,ु गहभरि आँशु पारेर भक्कानिँदै सुरज भन्छन्, ुतर, जहाज नआउँदा मुटुको टुक्रा गुम्यो ।’

सुरज एक यस्ता नागरिकका पात्र हुन् जो बर्सेनि हवाईजहाजको पर्खाइमा, हुम्ला, डोल्पा, मुगुलगायतका जिल्लामा विमानस्थलमै आफन्त गुमाइरहेका छन् ।

प्राधिकरणको अव्यावहारिक निर्णय

नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले कर्णालीका पाँचवटा विमानस्थलमा दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने निर्णय गरेपछि हिमाली जिल्लामा हवाईसेवा प्रभावित भएको थियो । जसका कारण ती जिल्लामा हुने दुर्घटनाका घाइते, बिरामी र गर्भवतीको उद्धारमा समस्या भएको थियो । तीव्र दबाबपछि प्राधिकरणले बिहीबारदेखि लागू हुनेगरी शर्तसहित १२ बजेपछि उडानमा लगाएको रोक खुला गरेको छ ।

अस्पतालले रेफर गरेको बिरामीलाई समयमै सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा साउन १५ यता चार जना बालकको मृत्यु भएको जिल्ला अस्पताल हुम्लाकी निमित्त प्रमुख सरिता बोहोरा बताउँछिन् ।

‘समयमै सुविधायुक्त अस्पतालमा लगेको भए बच्चाहरूलाई बचाउन सकिन्थ्यो,’ बोहोरा भन्छिन्, ‘१२ बजेसम्म मौसम खुल्दैन । दिउँसो खुल्छ जहाज आउँदैन ।’

बोहोराका अनुसार अहिले पनि थप उपचारका लागि हप्ता दिन अघि रेफर भएर नेपालगञ्ज जान नसकेका तीन जना सिकिस्त बिरामी अस्पतालमै छन् ।

नागरिक उड्डयन प्राधिकरणले मनसुनी वर्षा धेरै हुने समयलाई ध्यानमा राखेर हवाई सुरक्षाका लागि भन्दै १५ साउनबाट पहाडी तथा हिमाली जिल्लाका साना जहाज चल्ने २९ वटा विमानस्थलमा दिउँसो १२ बजेपछि उडानमा व्यावसायिकरचाटर्ड उडानमा रोक लगाएको थियो ।

हुम्लालगायतका जिल्लाका लागि भरपर्दो यातायात सेवाका रूपमा रहेको हवाईजहाज र हेलिकोप्टरको सेवा दिनको १२ बजेपछि बन्द हुँदा नागरिकले ठूलो सास्ती भोग्नुपरेको हुम्लाका प्रदेशसभा सांसद रनसिं परियार बताउँछन् ।

अहिलेसम्म पनि सडक सुविधा नपुगेका र सडक भए पनि भरपर्दो यातायात सेवा नभएका ठाउँमा प्राधिकरणको नियमले आपत्कालीन उद्धार, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधि, निर्माण सामग्रीको ढुवानीमा समेतमा असर परेको सांसद परियारले बताए ।

कर्णाली र सुदूरपश्चिमलगायत देशका अरू पहाडी तथा हिमाली क्षेत्रमा मनसुनको समयमा प्रायः जसो दिउँसोतिर मात्रै मौसम सफा हुने गर्छ ।

तपाईको प्रतिक्रिया