यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा तीन दिनदेखि मनसुन तुलनात्मक रुपमा सक्रिय रहेको छ । नेपालमा अहिले भारतको उत्तर–मध्य प्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा र एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले बताएको छ ।

तपाईको प्रतिक्रिया