पाँचवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो सातै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेस र कोसी प्रदेशका तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति कोसीदेखि गण्डकी प्रदेशसम्म सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले सतर्क रहन विभागको आग्रह छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै झारखण्ड आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

तपाईको प्रतिक्रिया