
सुर्खेत । सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर हुने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार आयोजनाको डीपीआर तयार भइसकेकाले चाँडै टेन्डर हुन थालेको हो । करिब ५ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र सर्भे गरे पनि काम हुन सकेको छैन् ।
हाल वीरेन्द्रनगरमा वितरण गरिँदै आएको झुप्रा खोला, खरी–बोरी खोला लगाएतको पानी अपुग भएपछि भेरी पम्पिङ आयोजना अघि सारिएको हो । भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगरमा ल्याउने लामो प्रयास लामो समयदेखी भईरहेको थियो । लामो अन्यौलताका बिच भेरी नदीको पानी लिफ्ट गरेर वीरेन्द्रनगर ल्याउने प्रयासले गति लिन आवश्यक सबै प्रक्रिया पूरा गरेकोे हो, तर वीरेन्द्रनगरबासी भने यो आयोजना प्रति ढुक्क भएका छैनन् ५ वर्षदेखी टेन्डर हुने भन्दै पटक पटक रोकिएको थियो ।
विश्व बैंकको लगानीमा निर्माण गर्न लागिएको बहुप्रतिक्षित भेरी लिफ्ट खानेपानीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत सँगै टेण्डर गर्ने निर्णय गरिएको छ । भेरी नदीको पानी पम्पिङको काम अघि बढाउन वीरेन्द्रनगर नगरपालिकाकामा कार्यान्वयन समितिको बैठकल बसेको थियो । उक्त बैठकले आयोजनाको तत्काल टेण्डर आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन स्वीकार गरेर लागत अनुमान र बोलपत्र सम्बन्धी कागजातहरु स्वीकृत गरेको छ । यो सँगै अब भेरी लिफ्टीङ आयोजनाको कामको थालनी आगामी बैशाख सम्म हुने नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालका अनुसार ‘टेण्डर आह्वानकालागि धेरै प्रक्रिया पूरा गर्नु थियो त्यो चरण पनि सकिएको छ । अहिलेलाई पहिलो चरणको काम अघि बढाउन लागेका छौं । उनले भनिन् ।
भेरी लिफ्टीङका लागि लगानी सुनिश्चित २०७९ असार २९ गते भएको थियो । आयोजनाको डिजाइन तथा खरिद सम्बन्धी कागजातलाई परिमार्जन गरेपछि विश्व बैंकले सबै ठिक रहेको प्रतिक्रिया दिएपछि पहिलो चरणको काम शुरु गर्न लागिएको छ । आयोजनाको पहिलो प्याकेज अन्र्तरगत भेरी नदीमा इन्टेक, पानीप्रशोधन केन्द्र, प्रशारण लाइन, रिजर्भ ट्यांकी लगायतको काम गरिने छ ।
सङ्घीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीयतहले पाएको सबैभन्दा ठूलो लगानीमा भेरीलिफ्टिङ्ग खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । प्रदेशकै ठुलो नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षमा बृद्धि हुनसक्ने जनसंख्यालाई दिर्घकालिन खानेपानीको सहज आपूर्ति पु¥याउने लक्ष्यसहित भेरी नदीबाट खानेपानी लिफ्टीङ्ग गरेर वीरेन्द्रनगर ल्याउन लागिएको छ । बजेट सुनिश्चित भइसकेको आयोजनाको निर्माणको यसै वर्षबाट शुरु हुने सुर्खेत उपत्यका खानीपानी संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । टेण्डर आह्वानपछि प्रक्रियागत रुपमा जानअझै ७ देखि ८ महिना लाग्ने उनले बताए । यसै आर्थिक वर्षबाट निर्माण शुरु गर्न लागिएको आयोजना आगामी तीन वर्षमा सक्ने लक्ष्य छ ।
करिब ६ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा सङ्घीय सरकारको ८० र प्रदेश तथा वीरेन्द्रनगरको २० प्रतिशत लगानी रहनेछ । प्रदेश सरकार पाँचकरोड रुपैयाँ विनियोजन गरेको छ भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग सहित आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख वजेटको व्यवस्था गरेको छ । वीरेन्द्रनगरको खानेपानी संकटन समाधान गर्न दीर्घकालीन स्रोतको रुपमा भेरी नदीको पानी उपत्यकामा ल्याउने विकल्प उत्तम देखिएपछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
हाल वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रति सेकेन्ड एक सय त्रिपन्न लिटर खानेपानी आपूर्ति गरेर वितरण गर्दै आएको छ । हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गर्दै आएको संस्थाले १८ हजार बढी घरधुरीलाई खानेपानी दिन सकेको छैन ।
यो पनी
डीपीआर सकिएकाे भेरी पम्पिङ्ग आयाेजनाकाे टेन्डर गर्न अझै पाँच महिना लाग्ने
भेरी लिफ्टिङ्ग खानेपानीकाे डिपिआरमाथि यस कारण लिइँदै छ विज्ञहरुबाट पुनः परामर्श

नविन सुवेदी । २०८० आश्विन १०, बुधबार