डोल्पा । जिल्लाकाे ठूलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँचिएको छ। सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्रीहरु बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्रयाक्टरको भार थाम्न नसकेर पुल भाँचिएको हो।
ट्रयाक्टर बीच भागमा पुगे लगत्तै काठको पुल भाँचिएको स्थानीय बीर्खबहादुर रोकायले जानकारी दिए। काठेपुल भाँचिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ। पुल भाँचिएपछि अत्यावश्यक कामले सदरमुकाम दुनै हिँडेका बिरामी, सर्वसाधारण १३ किलोमिटर सडकमा दुईवटा गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।
तत्कालीन जिल्ला विकास समितिको तीन करोड रुपैयाँ लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने २०७३ सालमा यही खोलामा पक्की मोटरेबल पुलको निर्माण शुरु गरेको थियो। मित्र संजीवनी कन्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्षभित्र पुलको निमार्ण कार्य पूरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिमबहादुर बुढालाई दिएका थिए।
पुल निर्माणको ठेक्का पाएको पाएको मित्र संजीवनीका प्रोप्राइटर गौरी उप्रेतीका डोल्पा प्रतिनिधि बुढाले आफूहरुले काम गरेको रकम समेत हालसम्म नपाएकाले काम रोकिएको बताए। बुढाले पेश्की बापत लिएको रकमले ढुङ्गा, गिट्टी र बालुवा संकलन तथा पुलको दुवैतर्फको पिलर र खाल्डो खन्ने काममा गरिएको बताए।
नेपालीरैबार । २०७७ भाद्र २९, सोमबार