सोमबार र मंगलबार पानी पर्ने, दसैँमा मौसम सफा हुने

काठमाडौं । आउँदो सोमबार र मंगलबार देशभर मौसम बदली हुने पूर्वानुमान छ । ती दुई दिन देशभर छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने देखिएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “सानो प्रणाली आउँदै छ, पश्चिमी वायुको असरले सोमबार र मंगलबार वर्षा हुने देखिन्छ ।

उनका अनुसार उक्त अवधिमा देशभर बादल लाग्नेछ । काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना छ । अरू स्थानको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्नेछ । बुधबार दिउँसोदेखि मौसम खुल्दै जाने उनले बताइन् ।

“देशैभर बादल लाग्छ । वर्षाको सम्भावना पनि देशैभर छ । पश्चिमी प्रणाली भएको भएर पश्चिम क्षेत्रमा अलि धेरै वर्षा हुने देखिन्छ,” उनले भनिन्, “बुधबार दिउँसोदेखि मौसम खुल्दै जानेछ ।”

दसैँ सफा हुने

आजको स्थितिबाट पूर्वानुमान गर्दा यो वर्षको दसैँ अवधिमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन् । दसैँमा मौसम सफा हुने उनको भनाइ छ । “बिहीबारपछि मौसम सफा हुनेछ,” उनले भनिन्, “अहिलेसम्मको अवस्थाबाट हेर्दा दसैँमा वर्षा हुने सम्भावना देखिँदैन ।”

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

नेपालबाट यो वर्षको मनसुन प्रणाली बाहिरिने क्रम जारी छ । औसत मितिभन्दा ढिलो गरी मनसुन बाहिरिइरहेको छ । देशबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने मौसमविद् मानन्धरले बताइन् । “केही दिन लाग्ने देखिन्छ,” उनले भनिन्, “मनसुन बाहिरिइसकेको अवस्था छैन ।

तपाईको प्रतिक्रिया