प्रकाश दुतराजको ‘रिमै’- राउटे समुदायको प्रेम कथा (भिडियो)

काठमाडौं । मौलिक शब्द कोर्न अनि तिनै शब्दहरुमा मौलिक धुन निकालेर स्वर भर्न माहिर गायक हुन् प्रकाश दुतराज। उनका गीतहरू निकै मौलिक हुन्छन्। उनको आवाज छ नै मौलिक।

युवा पुस्तामाझ निकै रुचाइएका दुतराजले संख्यात्मक भन्दा पनि गुणात्मक सृजनामा निकै ध्यान दिन्छन्। त्यसैको उपज हो उनको पछिल्लो सृजना ‘रिमै’। यो गीत दुतराजले केही दिन अघि आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन्। अहिले यो गीत निकै लोकप्रिय छ।

टिकटकमा निकै रुचाइएको यो गीतलाई युट्युबमा पनि राम्रो भ्युज मिलेको छ। यो समाचार तयार पार्दासम्म रिलिज भएको ७  दिनको अवधिमा करीव १२ लाख  बढी भ्युज गीतले युट्युबमा पाएको छ।गीतमा दुतराजकै शब्द,संगीत अनि स्वर रहेको छ। उनलाई गायनमा लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छिन्। गीतको धुन, शब्ददेखि लिएर गायिकी एकदम ठेट मौलिक छ।

यो गीतका हरेक टुक्का टिकटकमा हिट छन्। लाखौं टिकटक भिडियो समेत बनेका छन्। राम्रो प्रतिक्रिया मिलिरहेको छ। यतिसम्म कि गीत मन पराएर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतको एक टुक्कासहितको भिडियो आफ्नो फेसबुक पेजमा सार्वजनिक समेत गरेका छन्। यो नै दुतराजको लागि ठुलो कुरा हो।

उसो त, गीतको अडियोसँगै भिडियोको पनि चर्चा यतिबेला भइरहेको छ। राउटे समुदायको कथालाई यसपटक दुतराजले समावेश गरेका छन्।भिडियोमा राउटे भेषमा सजिएका छन् दुतराज। गाउँघरका पूराना मौलिक कथाहरुलाई भिडियोमा उन्न मन पराउने उनले यसपटक राउटेको कथा झल्काएका छन्।

राउटे समुदायका ज्यामीरेको भेषमा देखिएका छन् उनी। राइटे समुदायको बसाइँसराइ अनि माया(प्रेमको रोचक कथा भिडियोमा छ। प्रकाशको जोडीको रुपमा केपीना गोतामे छिन्। उनी बाचकलीको भुमिकामा छिन्। भिडियोमा ज्यामीरेको प्रेमिका हुन् उनी।

एउटा सिनेमाको कथा हेरेजस्तो लाग्ने भिडियोमा मौसम हिमालीको कथा, निर्देशन अनि कोरियोग्राफी रहेको छ। उनले भिडियोमा निकै मिहेनत गरेका छन्। भिडियोमा विशाल घिमिरेले सह(निर्देशकको भुमिका निर्वाह गरेका छन्।

दैलेखको राउटे वस्तीमा भिडियो खिचिएको हो। अनिल के मानन्धरले आकर्षक फ्रेममा भिडियो खिचेका हुन्। भिडियोको सम्पादन भने नवीन घर्तीमगरले गरेका छन्। -सुरसिनेमा

तपाईको प्रतिक्रिया