रहस्यमय बन्दै मुगु हत्याकाण्ड, कहाँ पुग्यो प्रहरीको अनुसन्धान ?

सुर्खेत । मुगुमा भएको सामुहिक हत्याकाण्डले यतिबेला सबैको ध्यान तानेको छ । घरभित्र नै आमा र तीन छोराछोरीको एकै पटक हत्या गरिएको विषय निकै रहस्यमय बनेको छ । उक्त घटनालाई लिएर विभिन्न कोणबाट अनुसन्धान भइरहेपनि अझैपनि प्रहरीले ‘क्लु’ पत्ता लगाउन भने सकिरहेको छैन ।


शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । प्रहरीका अनुसार घटना ८ गते साँझ नै भएको थियो । तर, प्रहरीले शुक्रबार बिहान साढे ९ बजेमात्र थाह पायो । स्थानीयले ताला फोडेर हेदा घरभित्र शव भेटेपछि प्रहरीले खबर गरेका थिए । घटना घटेको यतिका दिनसम्म पनि प्रहरीले कुनै ‘क्लु’ पत्ता लगाउन नसक्नुले घटना निकै रहरुस्यमय बन्दै गइरहेको बुझ्न सकिन्छ ।

घटनाको जानकारी पाएसँगै जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब निरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेर घटनास्थललाई सुरक्षित राखेको थियो । अनुसन्धान भने शनिबार बिहानबाट मात्रै सुरु भयो । अनुसन्धानका लागि कोहलपुरबाट तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट समेत अनुसन्धान टोली मुगु पुग्यो ।

अनुसन्धान टोलीले शनिबारदेखि सोमबारसम्म घटनाबारे संलग्न प्रष्ट आधारहरु भने फेला पार्न सकिरहेको छैन । अनुसन्धानलाई सघाउन आइतबार प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् । तालिम प्राप्त कुकुरले समेत कुनै संकेत नदिएपछि अनुसन्धान अझ लम्बिने देखिएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार अनुसन्धानका लागि घरवरपर र अन्य केही शंकास्पद व्यक्तिहरुलाई सोधपुछ गर्ने कार्य भइरहेको छ । घटनाको ‘क्लु’ पत्ता नलाग्दा अनुसन्धान केही लम्बिने देखिएको उनले बताए । ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, घटनास्थल सुरक्षित पनि राखिएकै छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘पक्राउ गर्नकै लागि अझैपनि प्रयाप्त विवरणहरु पत्ता लागिसकेको छैन ।’

उनका अनुसार आमा र दुई जनाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ । उक्त हतियार सानो बच्चा बाहेक अरु सबैमा प्रयोग भएको उनले बताए । ‘सानो बच्चालाई माथिबाट कपडा हालेर घटडेको देखिन्छ,’ती अनुसन्धान अधिकृतले भने ।

हत्या गर्ने व्यक्तिले घरमा ताला लगाएको छ । श्रीदेवी छोराछोरीसहित कार्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कार्तिक ८ गते बेलुका नै घर फर्किएकी थिइन् । घर फर्किसकेपछि कतारमा रहेका श्रीमानसँग भिडिओ कलमा कुराकानी हुन्छ ।

त्यसपछि श्रीदेवीले भोली सिमी काट्न छ भन्दै फोन राख्छिन् । त्यसपछि नै हत्या गरिएको प्रहरीको अनुमान छ । हत्या गरेर घरको मुल ढोकामा ताला लगाइएको छ । ती अनुसन्धान अधिकृतका अनुसार उक्त ताला श्रीदेवीले घरमा प्रयोग गर्ने गरिएको ताला नभई बाहिरको हो । ‘ताला पुरानो भएपनि अन्तबाट नै ल्याएर लगाइएको देखिन्छ,’ उनी भन्छन् ।

‘दोषी पत्ता नलागे शव बुझ्ने छैन’

मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा भने दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताउँछन् । पहिला दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘अहिले प्रहरीले अनुसन्धान गरिरहनुभएको छ, लाश जिल्ला अस्पतालमा लगिएको छ,’ उनले भने, ‘पहिला सत्य तथ्य पत्ता लाग्नुप¥यो । दोषीलाई कारबाहीको दायरामा ल्याउनुप¥यो । सत्य तथ्य पत्ता नलागि, दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म म लाश बुझ्ने छैन ।’

कतारमा रहेका दीपक शनिबार बिहान ११ बजे घरमा आइपुगेका हुन् । उनी आइसकेपछि शवहरु पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको थियो । यद्यपि अहिलेसम्म पोस्टमार्टम हुन सकिरहेको छैन ।

छाँयानाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावल पनि पहिला अपराधिलाई पक्राउ गरिनुपर्ने तर्क गर्छन् । उनी भन्छन्, ‘अपराधी पक्राउ नै नपरी पोस्टमार्टम गर्न गाह्रो छ । पोस्टमार्टम गरेपछि शव बुझ भन्लान्, त्यसो गरे त हुँदैन । त्यसैले पहिला अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्छ ।’

तपाईको प्रतिक्रिया