कालीकोट,। कालीकोटका गाउँ–गाउँमा औषधि पसलहरु खुलेका छन् । धेरैले स्वीकृति बिना मेडिकल चलाइरहेको पाइन्छ । वास्तबमा मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान भए पनि कालीकोटका अधिकांश मेडिकल पसल नियमविपरीत सञ्चालन भइरहेका छन् ।
स्वास्थ्यसम्बन्धी सामान्य तालिम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेको स्थानीयको भनाइ छ । नियमनकारी निकायले यस्ता मेडिकलको अनुगमनमा कुनै चासो नदिँदा गाउँ–गाउँमा स्वीकृति बिना खुलेका मेडिकलले उपचार गरिरहेका छन् । त्यसरी खुलेका कतिपय मेडिकलले त साइनबोर्ड पनि राखेका छैनन् ।
सरकारी स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी र औषधि नहुँदा धेरैजसो कालीकोटवासी उपचारका लागि तीनै स्वीकृति बिना खुलेका निजी मेडिकल धाउन बाध्य भएका छन् । जनस्वास्थ्य अधिकृत कटक महतले सरकारी स्वास्थ्य संस्थाको औषधि र निजी मेडिकलको औषधिको गुणस्तरमा फरक नपर्ने तर निजी मेडिकलले सुरुमै हाइडोजको औषधि चलाउँदा निजी मेडिकलमा गएर उपचार गर्ने प्रवृत्ति बढेको बताएका छन्। कालीकोटमा अहिले पनि कति वटा मेडिकल सञ्चालन छन् भन्ने यकिन भने छैन ।
जिल्ला अस्पतालका कालीकोटका स्वास्थ्य सेवा व्यवस्थापक डा। सङ्केत विश्वकर्माले भने, ‘‘हामी बिरामीको अवस्था हेरेर सकेसम्म सामान्य औषधि प्रयोग गर्छौ, निको हुन केही समय लाग्छ । एकैपटक कडा डोज प्रयोग गर्दैनौँ, तर निजीले मानिसको स्वास्थ्यको ख्यालै नगरी एकैपटक कडा खालका औषधि प्रयोग गर्छन् र छिटै निको भए पनि त्यसले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।’’
चिकित्सकको अनुमतिविना कडा खालका एन्टिबायोटिक औषधि बिक्री गर्नै मिल्दैन, तर कालीकोटका मेडिकलले डाक्टर नराखी आफैँ बिरामी जाँच गर्ने र जथाभाबी तरिकाले औषधि दिने गरेका छन् । धेरैजसो मेडिकल सञ्चालकले अहेवको कोर्ष पढेका छन् । उनीहरूले बिरामीको स्वास्थ्य परीक्षण नै गर्न मिल्दैन । डा। विश्वकर्माले फार्मेसी पढेकाले मेडिकल राख्न पाउँछन् तर उनीहरूले बिरामीको उपचार गर्न नपाउने बताए।
कालीकोटवासी स्वास्थ्य सेवा र पहुँचको हिसाबले निकैपछि परेका छन् । तीन नगरपालिका र ६ गाउँपालिका रहेको कालीकोटमा एउटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, ६ आधारभूत अस्पताल, २७ स्वास्थ्य चौकी, ५० आधारभूत स्वास्थ्य केन्द्र र १५ सामुदायिक स्वास्थ्य एकाइ रहेका छन् । तर हरेक स्वास्थ्य संस्था पुग्नलाई गाउँमा सडकको पहुँच भने पुगेको छैन । त्यसैले नजिकै रहेका मेडिकलमा गएर उपचार गर्नुपर्ने बाध्यता छन्, कालीकोटवासी ।
नरहरिनाथ गाउँपालिका ४ का वीरेन्द्र सहकारीले स्वास्थ्य संस्था नाम मात्रका रहेको बताउँछन् । ‘‘स्वास्थ्य संस्थामा न स्वास्थ्यकर्मी हुन्छन् न सरकारले निःशुल्क दिने भनेको औषधि नै पाइन्छ,’’ उनले भने, ‘‘त्यसैले कमजोर सरकारी स्वास्थ्य संस्था र सेवाका कारण स्थानीय स्वीकृति बिना खुलेका निजी मेडिकल पसल धाउन बाध्य भएका छन् । तर नियमन गर्ने निकाय भने मौन छन् ।’’
नेपालीरैबार । २०८० मंसिर १८, सोमबार