भूकम्प प्रभावित क्षेत्र- छानोबिनाका अस्थायी टहरा !

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१, कलपटको मुख्यबस्तीमा करिब २०० घरधुरी संख्या छ । गुम्ब बस्ती । एउटै खाले परम्परागत ढुंगा, माटोले बनेका घर । पहाडको खोंचमुनि रहेको उक्त बस्ती बाहिरबाट हेर्दा निकै सुन्दर लाग्थ्यो । तर, गत कार्तिक १७ गते मध्यरातीको भूकम्ले उक्त बस्तीलाई उजाड बनाइदियो । यहाँका ५० भन्दा बढी घरधुरीहरु पुर्ण रुपमा ध्वस्त भए, बाँकी घरहरु हेर्दा केही नभएको जस्तो देखिएपनि बस्न लायक छैनन । घरभित्र चिराचिरा परको छन् । अहिले यहाँका ८०० बढी नागरिकहरुले गहुँ बारीमा त्रिपाल हालेर बसेका छन् ।

 नलगाड नगरपालिका–१, कलपटमा निर्माण गरिएका छानोबिनाका टहरा ।

पुग नपुग १४० त्रिपालमा सिंगो बस्ती बसेको छ । स्थानीय जनक परियार भन्छन्–‘अहिलेसम्म सरकारले दिने अनुदान पाएका छैनौँ, जस्तापाता किन्ने पैसा छैन । यहाँका सबै नागरिकहरुको आर्थिक अवस्था सामान्य नै हो ।’ जस्तापाता नहुँदा अरुले बनाइदिएका टहराहरु पनि छनोविहीन छन् । जसकार कारण टहरा निर्माण भएपनि नागरिकहरु त्रिपालमै बस्न बाध्य छन् ।

यो बस्तीमा केयर नेपाल नामक संस्थाले त्रिपाल सहयोग गरेको छ भने युनिसेफ लगायतका संघसंस्थाहरुले शौचालय बनाउनेदेखि बालबालिकाका लागि परामर्श केन्द्र समेत खोलेको छन् । यद्यपि यो बस्ती भन्दा माथिको पहाड नै चर्किएकाले तल खोँचमा रहेको बस्ती असुरक्षित छ । यहाँबाट बस्ती सार्नुपर्ने माग स्थानीयहरूको छ । अहिले पनि भूकम्पले पहिरो आई बस्ती भन्दा अगाडि (पश्चिमतिर) सडक अवरुद्ध छ । मान्छे आवतजावत गर्न समस्या छ ।

७ जनाको ज्यान गएको यो बस्तीमा दलित, मगर र ठकुरी समुदायको बाहुल्यता रहेको यो बस्तीका पीडितहरूलाई खाद्यान्नको समस्या पनि छ । यहाँ नेकपा एमाले निकट युवा संघ र नेकपा माओवादी केन्द्रको सुर्खेत जिल्ला कमिटीले ४३ वटा अस्थायी टहरा निर्माण गरिदिएको छ । तर, अधिकाँश टहराको छानो छैन । माओवादीले २३ वटा अस्थायी टहरा निर्माण गरेको छ भने एमालेले २० वटा । त्यसमा १० प्रतिशत बाहेक टहरामा छानो छाइएको छैन । माओवादी केन्द्र सुर्खेतको टोलीका प्राविधिक विवि सुतार कार्की आवास ठड्याइएपनि जस्तापाता नहुँदा छानो हाल्न नसकिएको बताउँछन् ।

‘उहाँहरु (पीडित)ले जस्ता पाताको बन्दोबस्त गरेको भए हामी सबैको छानो पनि हाल्दिेथियौँ तर, जस्तापाताको व्यवस्थापन छैन,’ उनले भने, ‘जस्तापाता किन्नलाई नागरिकहरुसँग आर्थिक अवस्था पनि रहेनछ ।’ उनका अनुसार अधिकाँश अस्थायी आवास स्थानीय काठको प्रयोग गरेर ठड्याइएको छ । भत्किएका घरहरु पन्छाई त्यही घरको काठ टहरामा प्रयोग भएको छ । जस्तापाता हुने पीडितहरुका लागि भने सोही जस्तापाताको प्रयोग गरेर छानो हाल्ने काम पनि भएको कार्की बताउँछन् । दिनानुदिन बढिरहेको चिसोले पालमुनिको बसाइ निकै कष्टकर बनिरहेको भएपनि राज्यले दिनुपर्ने अनुदान समयमा नदिँदा जस्तापाता लगायत

स्टक्चर सामाग्री अभाव रहेको प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकहरु बताउँछन् । त्रिपालमा बसेकाहरूलाई चिसो छेक्नका लागि न्याना कपडाहरू छैनन् । विशेषगरि बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई त्रिपालको बसाइ थप कठिन छ । यहाँ मात्र होइन, जाजरकोट र रुकुम पश्चिम दुबै जिल्लाहरुमा राजनीतिक दल र तीनका संगठनहरुले निर्माण गरेका अस्थायी आवासहरुमध्ये अधिकाँश छानोबिनाका छन् । जस्ता पाता भएका घरहरुमा त्यही जस्ता पाताको प्रयोग गरेर छानो हाल्ने काम गरिएपनि नहुँनेहरुको टहराको छानो छैन । ‘टहरा बनाएर मात्र भएन छानो हालेर बस्न नमिल्ने भए बनाएर मात्र के गर्नु,’ आठबिसकोट नगरपालिका–१२, अरबारेकी जैकल्ली जैशी भन्छिन्, ‘चाँडो रकम दिएको भए हामी आफै किन्थेउँ ।’

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर प्रति परिवार ५० हजार रकम जिल्ला विपद् कोषमा पठाएको छ । तर, कार्यविधि अनुसार प्रक्रिया पुरा गर्दा वितरणमा ढिलाई भइरहेको स्थानीय पालिकाहरुले बताएका छन् । कार्यविधि अनुसार अहिले तथ्यांक संकलनको काम भइरहेको छ । प्रारम्भिक विवरण अनुसार जाजरकोट र रुकुम पश्चिममा करिब ६० हजार बढी घरहरुमा क्षति भएको छ । नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर बहादुर रावत संकलनको काममा प्रक्रिया पुराउनुपर्ने भएकाले केही ढिलाई भएको बताए ।

‘हामीले तथ्याङ्क सङ्कलनको कामसँगै अस्थायी आवास पनि निर्माण गर्ने अनि पछि भुक्तानी लिए पनि हुन्छ भन्ने तरिकाले काम गरिरहेका छौँ,’ उनले भने, ‘हामीसँग स्थानीय रूपमा काठ छँदैछ, टहरा निर्माण गरौँ भनेर लागिरहेका हौँ । यसका लागि कुनै डीपीआर पनि बनाउनु पर्दैन । हामीले अहिले तथ्याङ्क र अस्थायी आवास दुवैको काम गरिरहेका छौँ । वडाबाट अहिले रेकर्ड जिल्लामा पठाउने काम सुरु भइसकेको छ ।’ करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया