हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुने सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेको छ । आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

बिहानको समयमा देशको तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार हुँदै जाने विभागले जनाएको छ । हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने विभागको भनाइ छ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

तपाईको प्रतिक्रिया