काठमाडौँ । ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम लिएर नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरु अमेरिका यात्रामा निस्कने भएका छन् । फ्लाई नेपालको आयोजना रहेको कार्यक्रमका लागि कलाकारको टोली दुई सातापछि अमेरिका प्रस्थान गर्नेछन् ।
फ्लाई नेपालले बिहीबार एक कार्यक्रमका बिच ‘अब हाँस्छ अमेरिका’कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रम आयोजक फ्लाई नेपालका निर्देशक विनोद अधिकारीले अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रमतय भएको जानकारी दिए । अधिकारीका अनुसार कलाकारको टोलीको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउने उदेश्यले कार्यक्रम आयोजना गर्न लागेको अधिकारीको भनाई रहेको छ ।
यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा सहितको आठ जनाको सहभागी हुनेछन् । कार्यक्रममा कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा आफ्नो लागि विशेष रहेको बताए ।
‘कार्यक्रममा कलाकार सन्दीप क्षेत्रीले अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव रहेको बताए । तर हास्य कलाकारको टोलीसँग आफ्नो यो पहिलो कार्यक्रम भएको उनले बताएका छन् । कार्यक्रमलाई लिएर हामी उत्साहित छौँ, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनु हुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत छु’ उनले भने ।
कार्यक्रममा बाँकी सहभागीले यात्राका लागि उत्साहित भएको बताउँदै भ्रमणका दौरानमा उनीहरुले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घण्टाको रहने बताए ।
एक महिना बढी चल्ने यात्राका लागि ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स,, सानफ्रान्सिस्को लगायतका ठाउँमा आयोजना हुनेछ ।
नेपालीरैबार । २०८० पुष ५, बिहीबार