
कर्णालीलाई कसरी बदल्न सकिन्छ ? विकासको खाका के हो ? यो विषयमा मैले केही कुराहरु भन्दै आइरहेको छु । संघीयताको विषयमा जसरी नेगेटिभ तरिकाले प्रचार गरिएको छ, त्यो राम्रो होइन्, संघीयता कर्णालीका लागि शुभ–अवसर हो । र, सबै हिसाबले हामीले राम्रो गर्न सक्ने र सन्तोष गर्न सकिने ठाउँ दिएको छ । स्थानीय, प्रदेश र संघबाट आएको योजनाहरु निश्चित ठाउँमा प्राथमिकताका आधारमा, प्रभाव पार्ने खालको, सेवासँग जोड्नुपटर्छ । त्यसरी काम गरेको खण्डमा कर्णालीले छिटो प्रगति गर्न सक्छ ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष मा. योगेन्द्रबहादुर शाही
हामीले पञ्चबर्षिय योजनामा रहेर केही योजनाहरु अघि सारेका थियौँ–एउटा आर्थिक वृद्धि कक्षहरु थियो । पहिलो कुराहरु पुर्वाधारहरु मेरुदण्डका रुपमा सम्पन्न गरौँ । जसले पर्यटन, हाइड्रो, सेवाका क्षेत्र, उत्पादन, जडीबुटीका क्षेत्र, पशुपालन, पर्यटन लगायतका तमाम कुराहरुका लागि बाटो खुल्छ । ती योजनाहरु संघ र प्रदेश मिलेर हुने हो वा संघले गर्दिने हो त्यो गर्नुप¥यो । त्यो अहिले निकै ढिलो भइरहेको छ । संघले ढिला गरिरहेको छ, हामी (प्रदेश)ले जति बजेट हालिरहेको छौँ, त्यो बालुवामा पानी हालेजस्तै भइरहेको छ । धेरै योजनाहरु त्यस्तै भइरहेका छन् । स्थानीय आवाश्यकताहरु छन्, खानेपानी, शिक्षा, बाटोघाटो । प्रदेश र स्थानीय तहको धेरै रकम त्यसैमा खर्च भइरहेको छ । तर, रुपान्तरणका लागि मेजर काम हुन सकेनन् । हामीले सुरुमै मेजर योजनाको विषयमा भनेका थियौँ, त्यसैलाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ । जस्तो कुनै ठाउँका लागि मेजर बाटो बनाउने । तर, अहिले के भइरहेको छ भने त्यो पनि आधा बनाउने छाड्ने, ठाउँ–ठाउँमा खन्ने, पहिरो जाने भइरहेको छ ।
अहिले ‘कर्णाली समृद्धि’को कार्यक्रम ल्याइएको छ । पुर्वाधारसँगै उत्पादनलाई पनि अगाडि बढानुपर्छ भनिएको छ । शिक्षा र स्वास्थ्यलाई रिफम नगरी हुँदैन । प्रदेश अस्पताल बनायौँ अब जिल्ला र पालिकाका अस्पतालहरुलाई पनि बजेट दिनैपर्छ । पब्लिक एजुकेशनलाई रिफम गर्नुप¥यो । अहिले हामीले नमुनाको रुपमा डिजिटल स्वरुपमा हेर्न खोजिरहेका छौँ, अर्को आफैँ स्कुललाई नमुना कसरी बनाउने ? विद्यार्थी, शिक्षकहरु, पठनपाठन, बालमैत्री लगायत सबै कुरालाई जोडेर नमुना स्कुल कसरी बनाउने ? एउटा पालिकामा एउटा बनाएर हुन्छ कि वडास्तरमै हुन्छ कि ? त्यो खालको वातावरण बनाउनुपर्छ । जस्तै बड्डीचौर, जनमावि एउटा मोडल हुन सक्ला, कोपिला भ्यालीको अर्को मोडल होला । यसरी ठाउँ–ठाउँमा यस्ता संरचनाहरु कसरी बनाउने भन्ने कुरा हामीले गर्नुपर्छ । तर, गर्छु भन्ने रिजल्ट नदेखिने हो भने औचित्य रहन्न । शिक्षामा हामीले धेरै स्कुल त बनायौँ, भवन बनायौँ । तर, नमुना बनाउन सकेनौँ ।
आवासिय विद्यालयका मोडलहरु, राम्रा पब्लिक स्कुलहरु छन्, तिनीहरुलाई अझ उन्नत कसरी बनाउने ? त्यहाँ त धेरै स्रोत पनि लाग्दैन, टिचरहरु छँदैनछन्, भवन छँदैछ । हामीले अलिकति सपोर्ट गर्ने हो भने एक डेढ हजार विद्यार्थी पढाउन सकिन्छ । त्यसले सकरात्मक प्रभाव पार्छ । हामीले यि २–३ वटा क्षेत्रमा रहेर काम गर्न सकियो भने सकरात्मक प्रभाव पर्छ । हामीले धेरै महत्वकांक्षी पनि हुन पर्दैन, अलि स्टेप वाईज ध्यान दिएर काम गरेको खण्डमा कर्णालीमा लगानीकर्ताहरु पनि आउँछन् जस्तो लाग्छ । मान्छेहरु एकदमै उत्साहित छन् तर, त्यसको लागि गर्नुपर्ने कुरा भनेको न्युनतम पुर्वाधार बनाइदिनुपर्छ । उनीहरुलाई अनावश्यक दुख दिने, घुमाईफिराई गर्न हुन्न । आउ भनेर हामीले रेर्ट कार्पेट विछ्याउन सक्नुप¥यो । जग्गाको व्यवस्थापनको कुरादेखि विजुली सप्लाई, विजुलीमा छुट जस्ता कुराहरुमा हामीले ध्यान दिनुपर्छ । यही तरिकाले हामीले काम गरे कर्णालीले केही बर्षमै जम्प गर्न सक्छ ।
त्यो सम्भावना छ । तर, हामी स–सानो कुरामा अलमलियौँ भने केहीपनि रिजल्ट निस्किन्न । संघले पनि मेजर परियोजनाहरु जस्तै सुर्खेत–हिल्साको सडक बनाइदियो भने त्यसले अन्य पुर्वाधार, हाइड्रोपावर, पर्यटन सबै कुरामा सपोर्ट गर्छ । त्यो कर्णालीका लागि गेम चेञ्जर परियोजना हो । अर्को भेरी करिडोर हो । यो क्षेत्रमा केही हाइड्रोपावर, केही कारखानाहरुमा संघले सहयोग गरिदिए त्यसमा प्रदेशले के गर्नुपर्छ त्यो बल लगाई गर्नुपर्छ । यसरी हामीले शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारीको क्षेत्रमा व्यवस्थित तरिकाले लगानी गर्ने हो भने र प्रदेशले केही मुख्यमुख्य प्रदेश तहका पुर्वाधारहरु बनाए सुधार आउँछ । अहिले रंगशाला, केही प्रदेश लेवलका बाटाहरु बनेका छन् ।
हो, संघीयता कार्यान्वयनमा केही जटिलता देखिए । माथिबाट कतिपय कानुनहरु बनेनन्, प्रदेशमा पनि राजनीतिक अस्थितरता भएपछि मान्छेको ध्यान विकेन्द्रीत भयो । मन्त्री पनि ६ महिना मात्र हुन थालेपछि सबैले आ–आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गर्ने नै भए । त्यो कुराले समस्या दियो । बिचमा योजना आयोग पनि भएन । योजनाहरुको विषयमा फ्लोअप नै भएन । अहिले दोस्रो पञ्चबर्षीय योजनाबाट हामीले निश्चित योजनामा ध्यान केन्द्रित गरेको खण्डमा केही रिजल्ट ल्याउन सक्छौँ । ब्युरोक्रेशीको पनि आउने–जाने भइरहेको छ, जटिलता यता पनि छ । कतिपय कुरा धेरै गर्न खोजेपनि सानो रिजल्ट पनि दिन चुक्छौँ । अहिले कर्णालीलाई अवसर छ, प्रधानमन्त्री, उपप्रधानमन्त्रीदेखि केन्द्रमै कतिपय मन्त्री कर्णालीकै हुनुहुन्छ । सबैलाई फोर्स गरेर केही मेजर कुराहरु गर्न सक्नुपर्छ । यस्तो अवस्थामा पनि हामीले केही गर्न सकेनौँ भने निराशा पलाउँछ ।

नेपालीरैबार । २०८० माघ १७, बुधबार