१३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

काठमाण्डौँ। १३ वर्षीय बालिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा खोटाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।

मगर स्वास्थ्य चौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् । मगरले स्वास्थ्य चौकी आएकी बालिकालाई एकान्त कोठामा लगेर जबरजस्तीकरणी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्य चौकी गएको बेला मगरले हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बहानामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी (क १) को दाबी छ ।

मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । स्वास्थ्य चौकीबाट फर्किए लगत्तै हजुरआमाको मृत्यु भएको र काजकिरिया गर्दा उजुरी दिन ढिला भएको पीडित बालिकाको परिवारले जनाएको छ ।

आरोपितलाई माघ ११ गते पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया