विद्यालयको चर्को शुल्क विरुद्ध विप्लवको विद्यार्थी संगठनले संघर्ष गर्ने

काठमाडौँ। अखिल (समाजवादी) ले विद्यालयमा दिइने शुल्क विरुद्धमा संघर्ष गर्ने भएको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी) ले शुल्कका विरुद्ध संघर्ष गर्ने भएको हो ।

संगठनको काठमाडौँ सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनले विभिन्न प्रस्तावहरू पारित गरेको छ । सोही पारित गरिएको प्रस्ताव अनुसार विभिन्न बहानामा सामुदायिक विद्यालयहरूले लिने शुल्क र निजी विद्यालयले लिने चर्को शुल्कका विरुद्ध संघर्ष गर्ने भएको हो ।

अखिल (समाजवादी)ले शिक्षामा राज्यको लगानी बढाउन समेत दबाब दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने भएको हो । शिक्षालाई राज्यको अनिवार्य दायित्वमा लिने व्यवस्था गर्न माग समेत गरेको छ ।

नेपाली शिक्षा प्रणालीमा रहेको नवउदारवादी नीति र यसको कारण भइरहेको व्यापारीकरण, निजीकरण तथा माफियाकरणका विरुद्ध समेत समाजवादीले संघर्ष गर्ने भएको हो ।

त्यस्तै विश्वविद्यालय र विभिन्न शिक्षालयहरूमा भइरहेको राजनीतिक भागभण्डाका विरुद्ध समेत अखिल (समाजवादी) ले संघर्ष गर्ने भएको हो । विश्वविद्यालय तथा शिक्षालयहरूमा भइरहेका नियुक्तिहरू योग्यताका आधारमा गर्न समेत माग गरेको छ ।

युवा र विद्यार्थी तथा पुँजीको चरम विदेश पलायन रोक्न नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने पर्ने समाजवादीको माग छ । पाठ्यक्रममा अपडेट, विश्वविधालयको सुधार र नेपालको राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारीको सृजना गर्न माग गरेको छ ।

नेपाललाई विश्वको एक शैक्षिक गन्तव्य बनाउने नीति लिन समेत माग गरेको छ । एक शिक्षालय एक उत्पादन नीतिलाई लागू गर्न समेत माग गरेको छ । त्यही आधारमा क्षेत्रअनुसार उत्पादन योजनाहरू बनाई विद्यार्थीहरूलाई श्रम र उत्पादनमा लगाउन समेत माग गरेको छ ।

शिक्षालाई आधारभूत ज्ञान, जीवन निर्वाह, विज्ञता र अनुसन्धान तहमा विभाजन गरी सोही अनुसार ज्ञान र सिप प्रदान गर्ने प्रणाली व्यवस्था गर्न समेत माग गरेको छ ।

तपाईको प्रतिक्रिया