पाँच दशकदेखी बसोबास गरेको ठाउँका नागरिक अझै लालपुर्जा विहिन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० स्थित पठान टोलमा विसं २०२४ देखि बस्दै आएका भीमबहादुर सुनार ७२ वर्षका भए । पाँच दशकभन्दा बढी समय बसोबास गरेको ठाउँको लालपुर्जा नहुँदा सुकुमवासीको परिचय फेरिएको छैन ।

कहिलेकाहीँ भीमबहादुरलाई लाग्छ, दलित भएकै कारण पनि उपेक्षामा परियो । उनलाई यस्तो किन पनि लाग्छ भने पठान टोलको सिङ्गै बस्ती दलित समुदायको छ । जग्गाधनी पुर्जा नभएकै कारण विभिन्न सेवाबाटसमेत वञ्चित हुनु परेको तितो अनुभव उनीसँग छ । भीमबहादुर जस्तै पठान टोलका ११७ परिवारसँग जग्गाधनी पुर्जा छैन ।

पछिल्लो समय पठान टोलका सुकुमवासीलाई पुर्जा वितरणका लागि प्रयास भइरहेका छन् । पठान टोलसँगै अन्य भूमिहीन नागरिकलाई स्थायी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको वडाध्यक्ष डिलबहादुर रखालले जानकारी दिए । उनका अनुसार वडाभर एक हजार २३२ घरधुरी पुर्जाविहीन छन् । वडाले उनीहरूको विवरण सङ्कलन गरिसकेको छ । जग्गाधनी पुर्जा नहुँदा आर्थिक कारोबार गर्न समस्या हुने गरेको छ ।

जग्गाधनी पुर्जा नहुँदा बसिरहेको जमिनमा व्यवस्थित र सुरक्षित घर बनाउन नसकेको स्थानीय अम्मरबहादुर कामीले बताए। त्यति मात्र होइन कुनै व्यवसायका लागि आवश्यक रकम जोहो गर्न ऋण लिनसमेत नसकिएको उनले जानकारी दिए। कामीका अनुसार बिजुलीको मिटर जोड्नसमेत समस्या भइरहेको छ । पठान टोलका करिब नौ वटा घरधुरीले धरौटी रकम बुझाउन नसकेका कारण बिजुलीको मिटर जोड्न पाएका छैनन् ।

सुकुमवासी बस्ती अस्थायी भएको भन्दै अन्य पूर्वाधारको विकासका योजना नपार्ने गरेको लगायत समस्या भोगिरहेको सोही बस्तीका शुक्रबहादुर सुनारले बताए । उनका अनुसार धेरै अवसरबाट वञ्चित हुनु परिरहेको छ । पठान टोल समूहका संयोजक रनेबहादुर सुनारले आफूहरू न्यायको पहुँचमा पुग्न नसकेको बताए। अशिक्षा, गरिबीलगायतका कारण आधारभूत आवश्यकता परिपूर्तिका लागि यहाँका युवा रोजगारीको खोजीमा भारत जाने गरेका छन् । सुनारका अनुसार बस्तीमा गुणस्तरीय बिउ, मल, आधुनिक कृषिका उपकरण र थप सरकारी स्रोतसाधनमा पहुँच पुग्न सकेको छैन ।

एकातिर पुर्जा नहुँदा राज्यले प्रदान गर्ने सेवा लिनबाटै पठान टोलका नागरिक वञ्चित छन् । अर्कोतर्फ जनचेतना र सामाजिक पहुँचको अभावका कारण पनि थप समस्या झेलिरहेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच नभएको स्थानीय सुशीला विकले बताए। गाँस र बासकै चिन्ता हुने गरेकाले आधारभूत आवश्यकताबाटै वञ्चित भइरहेको उनको भनाइ छ ।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले लक्षित वर्ग विशेष कार्यक्रममा जोड दिएको छ । चालु आर्थिक वर्षमा लक्षित वर्ग विशेष कार्यक्रम सञ्चालन गरिएको छ । वडा तहबाट ती कार्यक्रम सञ्चालन गरिने छ । प्रत्येक वडामा रहेका विपन्न तथा लक्षित समुदाय पहिचान गरेर सोही अनुरूपको सिपमूलक तालिम सञ्चालन गरिने उनले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया