काठमाडौं। थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी दैलेखकी मनकुमारी सिंहलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले सिंहलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
फागुन ११ मा २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी थिइन् । उनले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको बच्चा चोरेकी हुन् । प्रहरीले बच्चा चोरेको केही घण्टामै उनलाई काँडाघारीस्थित डेराबाट पक्राउ गरेको थियो ।
उनीविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरेको थियो । यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पति दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरिसकेको छ ।
नेपालीरैबार । २०८० चैत्र ४, आईतवार