कालीकोटमा आय–आर्जनका लागि विभिन्न सामग्री वितरण

सुर्खेत। कालीकोटको तिलागुफा नगरपालिकामा स्थानीय समूहको आयआर्जन वृद्धिका लागि विभिन्न सामग्रीहरु वितरण गरिएको छ ।


गाँउ गठित विभिन्न समूहमा आबद्ध स्थानीयलाई कुटानी पिसानी मिल, खेत जोत्ने हाते ट्याक्टर, सिलाइकटाइका लागि टेलरिङ मेसिन, काठ चिर्नका लागि प्रयोग हुने हाते आरा, आरन सञ्चालनका लागि पङखा, घन, हठौडा लगायतका सामग्रीहरु वितरण गरिएको हो ।

समुदायको १० प्रतिशत लगानी, सहयोगी संस्थाको ९० प्रतिशत साथै ढुवानी गरेर ६ लाख चार हजार ६४ रुपियाँको सामग्री समुदायलाई नगरपालिका प्रमुख शङ्करप्रसाद उपाध्यायले हस्तान्तरण गरेका हुन् । एक लाख दश हजार समुदायको लगानी हो भने चार लाख ९४ हजार ६४ रुपियाँ साझेदार संस्थाको हो ।

तिलागुफा नगरपालिका–१ का ६९ वर्षीय सिंह विकले राम्रो सामान प्राप्त भएपछि अब आफूलाई व्यवसाय सञ्चालन गर्न सहज हुने बताए । नगर प्रमुख उपाध्यायद्वारा आरनका समान बुझ्दै विकले अब आरनको कामले गति लिने बताए ।

आरन पेसाबाट पहिलेभन्दा आजभोलि आम्दानी नगद हुने गरेको सुनाए । एक समान बनाए बापत २० देखि एकसय रुपियाँसम्म लिने गरेको भन्दै विकले अब झन् नयाँ औजारले छिटो समान बनाउन सकिने भएकाले राम्रो आम्दानी हुने प्रतिक्रिया दिए ।

वडा ८ का बसना शाहीले कुटानी–पिसानी मिलले महिलालाई सहज हुने विश्वास व्यक्त गरिन् । पहिला ओखलमा धान राखेर मुसलले कुट्दा हामी महिलाको समय धेरै खर्च हुने गरेको थियो । पिठो पिस्न पनि गाउँदेखि तल खोलाका घट्ट जाँदा दिनभरि खर्च हुनेगरेको थियो । साहस नेपालले महिलाको कार्यबोझ कम गर्ने काममा सहयोग गर्दैआएको छ ।

सहयोगी हातको समूह (साहस) नेपाल लिफ्ट परियोजनाका संयोजक हरिराम लोहोनीले आगामी दिनमा सुधारिएको चुलो, करेसाबारीको बिस्तार, गोठेमेल सुधार लगायतका क्षेत्रमा सहयोग गर्ने बताए । उनले महिलालाई सुत्केरी हुन सहज गराउन वर्थिङ सेन्टरमा समेत सहयोग गर्ने कार्यक्रम रहेको बताए ।

तपाईको प्रतिक्रिया