दैलेखमा भाईको एसईई परीक्षा दिने दाई पक्राउ

सुर्खेत। दैलेखमा भाईको एसईई परीक्षा दिने दाई पक्राउ परेका छन् । दैलेख सदरमुकामको त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा एसईई परीक्षाका लागी भाईको परीक्षा दिन दाई गए पछि नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिए ।

आज बिहीबार बाट सुरु भएको एसईई परीक्षाको पहिलो दिन भाईको सट्टामा दाईले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ गरी आवश्यक कानूनी कारवाही थालिएको दैलेख प्रहरी जनाएको छ ।

गैडाबाज मावि रानीवनका नियमित एसईई परीक्षार्थी भाईका लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक सदरमुकामको त्रिभुवन मावि दैलेखबजारमा कक्षा १२ का विद्यार्थी हुन् । मुखमा मास्क लगाई आएका र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेपछि सोधीखोजी गर्दा पत्ता लागेको हो ।

१५ वर्षको सहोदर भाईको सट्टा नक्कली परीक्षार्थी बन्ने दाजु चाहिँ १७ वर्षका बालक हुन् । ‘भाई पढाईमा कमजोर छ, नियमित परीक्षामै पास गराउन सक्छु’ भनेर भाईको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा हलमा गएको आरोपित बालकले बताए । उनका बुबा भारतमा मजदूरी गर्न गएका र आमा खेती किसानी गर्छिन् । १५ वर्षको एसईई परीक्षार्थी भाईपछि ११ वर्ष बहिनी छिन् ।

मुलुकी अपराध सहिंता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावली अनुसार अरु कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था समेत रहेको छ ।

तपाईको प्रतिक्रिया