प्रदेश अस्पतालमा आउन किन मान्दैनन् डाक्टरहरु

सुर्खेत । प्रदेश अस्पताललाई पछिल्लो समय देशकै उत्कृष्ट अस्पतालका रुपमा चिनिन्छ । एक दशकमा भौतिक संरचना निर्माणमा यो अस्पतालले ठुलो उपलब्धि हासिल गरे पनि डाक्टरहरूको रोजाइमा भने पर्न सकेको छैन । अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको सेवा प्रभावित भइरहेको छ । खटाइएका डाक्टरहरू नआउँदा दुई वटा विभाग तीन हप्तादेखि बन्द गर्नुपरेको छ ।

विशेषगरी न्यूरो सेवा प्रभावित हुँदा समस्या भइरहेको छ । प्रदेश अस्पतालले तीन वर्षअघि उक्त सेवा थप गरेको थियो । सेवा सञ्चालनमा आएदेखि नै काम गर्दै आएकी न्यूरोलोजिस्ट डाक्टर निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ फर्किसकेका छन् । उनी काठमाडौँ फर्किएपछि अस्पतालमा सेवा प्रभावित भएको हो ।

६ महिनाका लागि मन्त्रालयले खटाएका खड्का स्वतस्फूर्त रुपमा साढे दुई वर्ष बढी प्रदेश अस्पतालमा बसेका थिए । गत भदौ १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले न्युरोलोजिस्ट डा.ओमविक्रम शाह, डा। प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो । जसमध्ये पहिलो ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पतालमा हाजिर भइ रमना लिएर गइसके । अहिले प्रभात नारायणी अस्पताल पर्सामा छन् भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन् ।

यस्तै पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डाक्टर ओमविक्रम र सुतप अहिलेसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर भएका छैनन् । सुतप मुटुरोग विशेषज्ञ हुन् । उनीहरू नआउँदा सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

पत्रअनुसार उनीहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर भइसक्नुपर्ने हो, यद्यपि अहिलेसम्म पनि हाजिर भएका छैनन् । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेत डाक्टरहरू नआउँदा ओपीडी र सघन अप्रेसनमा समस्या भएको बताउँछन् ।

डाक्टरहरू नहुँदा दैनिक हुने सडक दुर्घटना र अन्य न्युरोको उपचार गर्न बाहिर पठाउनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले सो विषयमा फोन गरेर समन्वय गर्दा पनि ती डाक्टरहरू कर्णाली आउन नचाहेको बताए । खड्का सहितको टोलीले काठमाडौँ पुगेर मन्त्रीलाई समेत यो समस्याबारे जानकारी गराएको थियो । प्रदेश अस्पतालमा कार्यरत कतिपय डाक्टरहरू अन्य डाक्टरको रोजाइमा यो अस्पताल नपर्ने खासै कारण नरहेको बताउँछन् ।

अस्पतालका सूचना अधिकारी बस्नेत अस्पतालको कमजोरीका कारण नभइ स्वयम् बाहिरका डाक्टरहरूको कर्णालीलाई हेर्ने नजर फरक रहेका कारण समस्या देखिएको बताउँछन् । ‘अस्पतालको सेवा प्रवाहका हिसाबले अलि टाइट हुनुपर्ने, समयको विशेष ख्याल गरिन्छ, हामी हरेक दिन बिहान १० बजे मिटिङ बस्छौँ,’ उनले भने, ‘प्रायः डाक्टरहरू बाहिर निजीतिर जाने प्रवृत्ति हुन्छ, ६ महिनाका लागि मात्र यहाँ आउँदा उहाँहरूलाई कम्फर्टेबल नलाग्दो हो ।’ अस्पताल बाहिरबाट हेर्दा चिटिक्क भए पनि त्यहाँभित्र दिने सेवाका विषयमा पनि यावत् प्रश्न उठ्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया