सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार एमालेकै नेतृत्वमा सरकार बनाउने गरी माओवादी केन्द्रले प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
यसअघि माओवादीका केही नेताले पार्टीले एमालेलाई नेतृत्व छाड्न नहुने अडान राख्दै आए पनि पार्टीले एमालेलाई मुख्यमन्त्री दिने सहमति भएकाले सोहीअनुसार गर्न प्रदेश कमिटीलाई सर्कुलर पठाएको हो ।
पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको नेकपा माओवादी केन्द्रका भएको र सोहीअनुसार प्रदेशमा सर्कुलर आएको माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।
कर्णालीमा हाल माओवादी केन्द्रका राजकुमार शर्माको नेतृत्व छ । उनले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको सन्दर्भमा अब विश्वासको मत के हुन्छ भन्नेबारे चासो उत्पन्न भएको छ । तर, शर्माले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेपालीरैबार । २०८० चैत्र २०, मंगलवार