कर्णालीमा प्रदेशसभा बैठक स्थगित

सुर्खेत। कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माको पत्रको आधारमा मंगलबार तयार भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।

विशेष कारणवश आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधबाररका लागि सार्न आफूले पत्राचार गरेको शर्माले बताए ।

‘ नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव मिति २०८०।१२।२० गते कर्णाली प्रदेश सभामा पेस गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम (५) बमोजिम सूचना गरेकोमा विशेष कारणवश सो मितिमा प्रस्ताव पेस गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव मिति २०८०।१२।२१ गते सारी प्रदेश सभामा पेस गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन पुनः कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम (५) बमोजिम सूचना गरेको छु’, मुख्यमन्त्रीको पत्रमा भनिएको छ ।

सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीको भाग एमालेले पाएको छ । तर, माओवादी केन्द्रले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राखेपछि विवाद हुँदै आएको छ । सोही विवाद समाधान हुन नसक्दा मङ्गलबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो ।

तपाईको प्रतिक्रिया