स्वास्थ्य बिमाप्रति आकर्षित हुदै जुम्लाका नागरिक

सुर्खेत। पछिल्लो समय बिमाको महत्त्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बिमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार ४११ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

जिल्लास्थित स्वास्थ्य बिमा कार्यालयका प्रमुख प्रेम भण्डारीका अनुसार विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बिमाको सेवा विस्तार भएको हो ।
हालसम्म महिला र पुरुषगरी ९० हजार ४११ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । जिल्लाका ११ हजार ६४८ घरपरिवार बिमामा आबद्ध छन् ।

पहिले स्वास्थ्य बिमाका बारेमा जानकारी नहुदा बिमाको महत्व पनि थाहा पाएका थिएनन् । अहिले बिमा सहजकर्ता घरघरमा गएर बिमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बिमामा आबद्ध हुने स्थानीयको संख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताए ।

जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्‍याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ । सरकारले अपांगता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बिमा गर्ने व्यवस्था समेत गरेको छ ।

अन्यको हकमा शुल्क लिएर एक लाख बराबरको स्वास्थ्य बिमा गर्ने गरिएको कार्यालयले जनाएको छ । बिमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले सहभुक्तानीको व्यवस्था समेत गरेको छ । सरकारले विसं २०७२ देखि स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो ।

तपाईको प्रतिक्रिया