फिल्म ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको छ । पोष्टरमा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात शिशुलाई स्तनपान गराइरहेकी छिन् ।

उनका आँखाबाट बलिन्द्र आँसु झरिरहेका छन् । केही अगाडि सार्वजनिक फिल्मको फष्टलुक्समा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरूले लखेटी रहेका थिए, यसमा उनी रुँदै स्तनपान गराइराछिन् । यसले फिल्ममा उनी बच्चाकी आमाको भूमिकामा छिन् कि भनेर दर्शकमा कुतुहलता जगाएको छ ।

पोष्टरमा मलिकासँगै दुई बाल कलाकार हर्षिका वली र मन्जीला बाँनिया रोइरहेका छन् । हर्षिका हातमा चप्पल समातेर निकै बिछिप्त अवस्थामा छिन् भने बरर आँसु झारेकी मन्जिलाको हातमा सानो हाँगा छ । फैलिएको हाँगो माथि एउटा पुतली उड्दैछ । यसले छोरीहरू स्वतन्त्र उडान गर्न चाहन्छन् भन्ने सङ्केत गरेको अनुमान गर्न सकिन्छ । पोस्टरमा ‘छोरी पुजौँ छोरी बुझौँ यिनै संसार सारा’ उल्लेख समेत गरिएको छ ।

फिल्म लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । फिल्मले महिला, दलित र अपहेलितको कथा भन्छ । बाबुछोरीको कथा समेत भन्ने फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको विषय समेत गहिरिएर देखाउने निर्देशक सुवेदी बताउँछन् ।

फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत सुवेदीकै रहेको छ ।

तपाईको प्रतिक्रिया