विद्यार्थीको उपस्थिति नियमित बनाउन अभिभावकसँग फोन कार्यक्रम

सुर्खेत। हुम्लाका सामुदायीक विद्यालयले अभिभावकसँग फोन कार्यक्रम सञ्चालनमा ल्याएका छन् । उक्त विद्यालयहरुले विद्यार्थीको उपस्थिति बढाउन र नियमित बनाउनको लागि अभिभावकसँग फोन कार्यक्रमलाई प्रभावकारी बनाएको हो ।

जिल्लाको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यालयले वार्षिक कार्ययोजनामै उल्लेख गरेर अभिभावकसँग फोन कार्यक्रम राख्दै विद्यार्थीको उपस्थिति नियमित र बढाउन निक्कै सहयोगी बनेको बताउँछन् ।

उनले विद्यार्थी एक दिन विद्यालयमा उपस्थित नभएको पाइएमा अभिभावकलाई फोन सम्पर्क गर्ने र विद्यार्थी विद्यालयमा नआउने कारण खोजी गर्ने बताए । यो कार्यक्रमले गर्दा विद्यार्थी विद्यालयमा उपस्थित नभएको कारण सहजै पत्ता लाग्ने र अभिभावकलाई त्यसको जानकारी हुने भएकाले घरबाट निस्केर विद्यालयमा नआउने विद्यार्थीलाई नियमित बनाउन यसले सहयोग गरेको जानकारी दिए ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि तीन जना विद्यार्थीहरु घरबाट विद्यालय जाने भनेर निस्कने तर विद्यालय नआउने विद्यार्थीको बानीमा सुधार ल्याउन उनको विद्यालय सफल भएको छ । यो कार्यक्रलाई बालमन्दिर माविले निरन्तरता दिने उनले बताए।

यसैगरी खार्पुनाथ गाउँपालिका–५ को मान्धारा माविले पनि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले केही विद्यार्थी घरबाट विद्यालय जाने भनेर निस्कने तर विद्यालय नआउने गरेको पाइएपछि अभिभावकसँग फोन कार्यक्रम लागु गरेको बताए। यो शैक्षिक सत्रमा मात्र उनको विद्यालयले पाँच जना यस्ता विद्यार्थीलाई नियमित गराउन सफल भएको छ ।

तपाईको प्रतिक्रिया