टिमुरमा आत्मनिर्भर बन्दै जाजरकोट, वर्षेनी लाखौ‌ं आम्दानी

किसानको बारीमै पुग्छन् व्यापारी

जाजरकोट । जाजरकोटका ग्रामीण क्षेत्रका नागरिकहरु टिमुर खेतीमा जुटेका छन् । टिमुर खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु टिमुर खेतीतर्फ आकर्षित भएका हुन् । वर्षौदेखि बाँझो जमिनका थोरै मेहेनतमा आम्दानी हुने भएपछि किसानहरु टिमुर खेतीतर्फ आकर्षित भएका छन् ।

स्थानीय सरकार र प्रदेशका कार्यालयहरुले टिमुर खेतीमा बिशेष जोड दिएपछि जिल्लामा ग्रामीण क्षेत्रका नागरिकहरु अहिले उक्त पेशामा आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । जिल्लाको सबैभन्दा छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा टिमुर खेती किसानहरुले गर्दै आएको कार्यालयका एक कर्मचारीले बताए ।

जिल्लाको जुनिचाँदे गाउँपालिका ११ का नेत्र बहादुर शाही बिहानै बारीमा टिमुर हेरचाह गर्न निस्कन्छन् । मूख्य आम्दानीको स्रोत कमै धान, कोदो, फल्ने जग्गामा शाहीले टिमुर खेती गरेका छन् । ९ सय बोट टिमुर शाहीको बारीमा नियमित वर्षेनी फलिरहेका छन् । रोजगारीको लागि विभिन्न देशमा जाने विचार गरेका शाही यतिबेला आफ्नै खेतीमा पसिना बगाईरहेका छन् ।

शाहीले टिमुर खेतीमात्र नभएर टिमुरका बिरुवा उत्पादन गरेर वर्षेनी लाखौँ रकम आम्दानी गर्दै आएको बताए । ‘पढाईपछि विदेश जाने विचारमा थिएँ । तर बुवाको सहयोगले बाँझो जमिनमा टिमुर खेती लगायौँ । विभिन्न कार्यालयको सहयोगमा अहिले लाखौँको आम्दानी हुँदै आएको छ ।’ उनले भने, ‘हामीले फलाएको टिमुर बाहिर लिएर कसैलाई किनिदिनु प¥यो भन्नु पर्दैन । व्यापारीहरु बारीमै किन्न आउँछन् ।’ जाजरकाेटबाट प्रकाशीत भेरीमालिका दैनिकमा समाचार छापिएकाे छ ।

यस्तै जुनिचाँदे गाउँपालिका १ का पठे बुढा घर परिवार पाल्नैका लागि कालापाहाड जाने गरेका थिए । वर्षभरी खेतमा लगाएको बालीले परिवार धन्न धौ–धौ हुन्थ्यो । तर अहिले पछिल्लो समय उनी टिमुर खेती गर्दै आएका छन् । उनले भने, ‘डाँडापाखाको जग्गा बाबा, बाजेले खोरीया बनाए । तर हाम्रो पालामा कमाउन नसक्ने भयौँ । टिमुर खेती गर्दा अहिले राम्रै आम्दानी भएको छ ।’ वर्षैभरी एउटा बुटाबाट ३०÷४० हजार आम्दानी हुने गरेको बुढाले बताए ।

जुनिचाँदे गाउँपालिकामा टिमुरको विरुवाको माग बढि भएको कृषि शाखा प्रमुख भिम केसीले बताए । गाउँपालिकामा हावापानीको भू–बनावटले साथ दिएकोले पछिल्लो समय किसानहरु टिमुर खेतीमा होमिएको देखिन्छ । उनले भने, ‘पहिले बाँझो रहेको जमिनहरुमा अहिले किसानहरुले टिमुर खेती गर्दै आएका छन् । किसानको खेतबारीमा राम्रो मूल्य पाउने भएपछि गाउँपालिका भित्रका नागरिकहरु गाउँमै उत्पादनमा लागेका छन् ।’

किसानको बारीमा प्रति किलो १ हजारका दरले बिक्री हुने भएपछि अहिले किसानहरु टिमुर खेती गर्न व्यस्त छन् । टिमुर आयुर्वेद औषधी बनाउनको लागि मूख्य प्रयोगमा आउने भएपछि माग बढेको शाखा प्रमुख केसीले बताए । गाउँपालिकामा मात्र कृषि विकास कार्यालय जाजरकोटबाट ६ हजार टिमुरको बुटा वितरण भएको उनले बताए ।

यस्तै जुनिचाँदे गाउँपालिकाले गत आ.व. मा १२ सय विरुवा वितरण गरेको उनको भनाइ छ । गाउँपालिकाको अनुदानमा समूह÷सहकारीमार्फत टिमुरका विरुवा वितरण भएको केसीले बताए ।

विशेषगरी समुन्द्री सतहबाट एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइ टिमुर खेतीका लागि उत्तम मानिन्छ । जुनिचाँदे गाउँपालिका टिमुर खेतीका लागि उपयुक्त हावापानी राम्रो भएकाले यहाँका सबै घरधुरीले टिमुर खेती गरेको गाउँपालिका कार्यवाहक अध्यक्ष शिवा आचार्य बस्नेतले बताइन् ।

बिरुवा लगाएको चार वर्षपछि फल्न शुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि स्थानीयवासी यस खेतीतर्फ सक्रिय भएर लाग्न थालेको आचार्यको भनाइ छ । रुखो जग्गा जमिन तथा वनमा समेत टिमुरखेती सजिलै गर्न सकिने र धेरै मिहिनेत गर्नु नपर्ने भएपछि गाउँपालिकामा अभियानकै रुपमा टिमुर खेती थालिएको छ ।

तपाईको प्रतिक्रिया