काठमाडौं। सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म हो ‘जेरीः अन टप’ । फिल्मको मुख्य अभिनेत्रीको रुपमा जसिता गुरुङ भित्रिएकी छिन् । निर्माण टिमले जसितासँग सम्झौता गर्दै फिल्ममा भित्र्याएको हो ।
टिम र आफ्नो भूमिका राम्रो भएकोले फिल्ममा आफू जोडिएको जसिता बताउँछिन् । यसअघि फिल्ममा अभिनेता अनमोल केसी, आँचल शर्मा, आना शर्माले पनि काम गर्ने पक्कापक्की भएको थियो । जसिता भित्रिएसँगै फिल्ममा आना बाहिरिएको चर्चा छ । आना बाहिरिएको हो वा फिल्ममा छिन् निर्माण पक्षले केही बताएको छैन ।
त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्ममा सरोज न्यौपाने र दीपक भण्डारीको लगानी रहनेछ । फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । फिल्मको छायांकन काठमाडौं, मुस्ताङ, लुक्ला लगायतका स्थानमा हुनेछ ।
नेपालीरैबार । २०८१ असार १२, बुधबार