मुगुमा हतियार देखाएर लुट्दै हिँड्ने ३ जना पक्राउ

सुर्खेत। हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समूहमा संलग्न ३ जनालाई अत्याधुनिक हतियारसहित सार्वजनिक गरेको हो ।

प्रहरीले ६ जना पक्राउ गरेको थियो तर पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

गत जेठ १२ गते उक्त समुहले मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा बूढाबूढी र बालबालिका मात्र रहेको मौका छोपी लुटपाट गरेको थियो । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको थियो ।
गाउँका घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका थिए । गाँउमा भएका पुजारीहरुलाई र घरघरमा पालेका कुकुरहरुलाई समेत कुटपिट गरेका थिए ।

तपाईको प्रतिक्रिया