सुर्खेत । गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भएर गएको भूकम्पबाट घर क्षति भई लाभग्राही कायम भएका रुकुमपश्चिमका १६ हजार भूकम्पीडितका लागि दोस्रो किस्ताको रकम निकासा भएको छ ।
जिल्ला प्रशासन कार्यालयले १६ हजार लाभ्रग्राहीलाई अस्थायी आवास निर्माणबापतको ४० करोड रुपियाँ सम्बन्धित स्थानीय तहमा पठाइ सकिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भूकम्पबाट प्रभावित घरपरिवारलाई आवास निर्माण कार्यविधि २०८० ले निर्दिष्ट गरेबमोजिम अस्थायी आवासका लागि दोस्रो किस्ताको रकम पठाइएको बताए।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म लाभग्राही कायम भएका ३२ हजार ९९६ जनालाई २५ हजार रुपियाँको दरले पहिलो किस्ताको रकम उपलब्ध गराइसकिएको छ । लाभग्राही कायम भएकामध्ये दुई हजार दुई जनाले अझै पनि पहिलो किस्ताकै अनुदान रकम पाएका छैनन् । अस्थायी आवास बनाएका लाभग्राहीमध्ये हालसम्म चौरजहारी नगरपालिकाका दुई हजार ९४५, आठबिसकोट नगरपालिकाका तीन हजार १३, सानीभेरी गाउँपालिकाका पाँच हजार ६४५ र त्रिवेणी गाउँपालिकाका चार हजार ३८८ जनाका लागि दोस्रो किस्ताबापतको ४० करोड रुपियाँ निकासा पठाइएको छ ।
लाभग्राही कायम भएकामध्ये १६ हजारलाई दोस्रो किस्ताको रकम पठाइएको छ भने थप रकम माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्तले पालिकाबाट माग भई आएका आठबिसकोट नगरपालिका दुई हजार ९८५ जना, बाँफीकोट गाउँपालिकाका दुई हजार ४२५ जना र त्रिवेणी गाउँपालिकाका ३३७ जना गरेर पाँच हजार ७४७ जना लाभग्राहीका लागि दोस्रो किस्ताको रकम राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा माग गरिएको छ । पालिकाले विपत् पोर्टलमा समावेश भएका लाभग्राही अनुसार रकम माग गरेको आधारमा प्रशासनले प्राधिकरणमा माग गर्ने गरेको छ । आर्थिक वर्ष समापन हुँदासम्म पनि टहरा निर्माणको अनुदान रकम नपाएको भन्दै समस्या भएको पीडितको गुनासो रहेको छ । पुनर्निर्माणको काम सुरु गर्ने बेला टहराकै रकम पाउन नसकेको उनीहरूको गुनासो छ । आठबिसकोट नगरपालिका–१४ का विराज परियारले ऋण निकालेर टहरा बनाएको तर सरकारबाट अझै पनि सबै रकम नपाएको पीडा पोखे ।
नेपालीरैबार । २०८१ असार २८, शुक्रबार