काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त प्रधानमन्त्री ओलीले दौरा सुरुवालमा शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन्। ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यसअघि उनी २०७८ असार २९ मा प्रधानमन्त्रीबाट बहिर्गमन भएका थिए ।
समारोहमा उपराष्ट्रपति राम सहाय यादव, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तित्व समारोहमा उपस्थित भएका छन् ।
प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको छ । समारोहमा भाग लिन आउने विशिष्ट पाहुनाका लागि अग्रस्थानमा र अन्य पाहुनाका लागि दायाँ बायाँ बस्ने व्यवस्था मिलाइएको छ ।
नेपालीरैबार । २०८१ असार ३१, सोमबार