सार्वजनिक सेवा प्रवाह सुशासन र जवाफदेहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दैलेख । दैलेखमा जिल्लाका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मङ्गलबार पहाडी क्षेत्र विकास अभियान जाजरकोट र यू एन डीपीको सहयोगमा सार्वजनिक सेवा प्रवाह सुशासन र जवाफदेहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। दलित महिला अपाङ्ग पिछडिएको वर्गलाई सेवाप्रवाह र सूचनाको विषयमा जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य भएको पहाडी क्षेत्र विकास अभियान परियोजनाका संयोजक भीमबहादुर नेपालीले जानकारी दिए।

जिल्ला समन्वयका उपप्रमुख केशवबहादुर शाहीले दैलेखमा आएर कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए। गुराँस गाउँपालिकाका प्रमुख टोपबहादुर बिसीले सरकारी मातहतमा रहेका कार्यालयहरूले भन्दा संघसंस्थाहरूले राम्रो काम गरेको बताउँदै कर्मचारीहरूले पावर र पहुँचको आधारमा सेवा दिने प्रचलन बढेकोले त्यसो नगरी सर्वसाधारणलाई सहज सेवा प्रदान गर्न आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले सेवा दिँदा कर्मचारीभन्दा पनि आफू नागरिक भएको महसुस गरेर सेवा दिन सके त्यो सेवा प्रभावकारी हुन्छ, सेवा लिन आएका सेवाग्राहीलाई कर्मचारीहरूले राम्रोसँग सोधपुछ गरी दिने हो भने मात्रै पनि सर्वसाधारणहरूलाई प्रभावकारी सेवा दिन सकिने दाहालले बताए।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख प्रशासकीय अधिकृत गणेश कोइरालाले आफू नागरिक भएर सेवा लिन जाँदा पाएको दुःख सम्झँदै अहिले आफ्नो कार्यालयबाट प्रभावकारी सेवा दिएको बताए। कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत कर्मचारी जनप्रतिनिधि पत्रकारहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया