सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरुको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि सार्वजनिक गरिएको हो । मुख्यमन्त्री कँडेलले सुर्खेतको वीरेन्द्रनगरमा र काठमाडौंमा दुईवटा घर रहेको खुलाउनु भएको छ । सुर्खेतको घरलाई उहाँले पुर्यौली भन्नुभएको छ, भने काठमाडौंको घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरुको पारिश्रमिकबाट किनेको उल्लेख गर्नुभएको छ । । काठमाडौंको घर कँडेलकी पत्नी गीता अधिकारीको नाममा छ ।
कँडेलको काठमाडौंको मूलपानीमा एउटा र सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी छ । सुर्खेतको घडेरीहरु पुर्ख्यौली भएको र काठमाडौंको ८ आना जग्गा पछि किनेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । कँडेलले आफूसँग भएको सुन पुर्ख्यौली र पछि खरिद गरेको सम्पत्ति विवरणमा जनाउनुभएको छ । मुख्यमन्त्री कँडेल र उहाँकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । उक्त रकमको स्रोत पारिश्रमिक, घर भाडा, बोनस र सापटी फिर्ताबाट उठेको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री कँडेलले र पत्नी गीताको नाममा ललितपुर र सुर्खेतका सहकारी, कलेज र विभिन्न वित्तीय संस्थाहरू सहित ८ ठाउँमा शेयर भएको सम्पत्ति विवरणमा देखाउनुभएको छ । यस्तै राष्ट्रिय वाणिज्य बैङ्कबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कँडेलसँग २ वटा मोबाइल, एउटा ट्याब्लेट, दुईवटा घडी र एउटा ल्यापटप रहेको उल्लेख गर्नुभएको छ ।
यस्तै सामाजिक विकास मन्त्री वीरबहादुर शाहीकोे गाउँका १०६० वर्ग मिटरमा बनाइएको घर छ, जुन पुर्ख्यौली हो । बाँकेमा २ वटा घर छन्, एउटा ३७६.५५ वर्ग मिटर क्षेत्रफलमा र अर्को २१ धुरमा बनेको । उक्त घर १० लाखमा जोडेको र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२, मा २५ लाख मूल्य बराबरको अर्को घर रहेको उल्लेख गर्नुभएको छ । यी घरहरू उहाँले ठेक्कापट्टाबाट जोडेको उल्लेख गर्नुभएको छ । शाही राजनीतिसँगै ठेक्कापट्टामा पनि सक्रिय हुनुहुन्छ ।
शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा जग्गाजमिन रहेको छ । डोल्पा जगदुल्लाका दुई ठाउँमा ११ घुर, सुर्खेतमा ९ धुर, बाँकेमा २०० धुर, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, मा दुई ठाउँमा गरी ४०० धुर र डोल्पामै अर्को ४ विगाह जमिन छ ।
सो सम्पती पुर्ख्यौली सम्पत्ति र बाँकी ठेक्कापट्टाबाट नै जोडेको शाहीले उल्लेख गर्नुभएको छ । सुर्खेत र बाँकेको १ करोड ५० लाख बराबर मूल्यमा खरिद गरेको र रुकुम पश्चिमको ६५ लाख रकममा खरिद गरेको उल्लेख गर्नुभएको छ ।
शाहीसँग २९ तोला सुन, ५ तोला चाँदी, मुरा १० तोला रहेको उल्लेख गर्नुभएको छ । मन्त्री शाही र उहाँकी श्रीमती शिलकुमारी शाहीको नामा ५ लाख रकम मौज्दात रहेको छ । उहाँको ठेक्का कम्पनी उहाँकै श्रीमतीको नाममा रहेको र उक्त रकम पनि ठेक्कापट्टाबाट नै कमाएको उल्लेख छ ।
उहाँको डिविसी कन्स्ट्रक्सन नामको कम्पनी ६० प्रतिशत र ३० प्रतिशत श्रीमतीको नाममा छ । उहाँसँग कम्पनी र आफ्नो नाममा ८ लाख मात्र ऋण छ । शाहीसँग २ वटा डोजर, एक ट्याक्टर र अन्य केही सवारी साधन पनि छन् । सबै ठेक्कापट्टाबाट नै खरिद गरिएको शाहीले उल्लेख गर्नुभएको छ ।
यस्तै उहाँसँग एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, १०० बाख्रा रहेका छन् भने एउटा उद्योग पनि छ । उक्त उद्योगमा एक करोडमा खरिद गरिएको उल्लेख छ ।
यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाको डोल्पामा पुर्ख्यौली घर तथा जमिन रहेको उल्लेख गरेका छन् । ००,९४५, ००५५०, ००.२४५, ०,०६२०, ०,००४५, ०३२० र ०,०८० वर्गमिटरको घर तथा घरको चर्चेको जग्गा रहेको उल्लेख गर्नुभएको छ ।
यस्तै उहाँकी श्रीमती कुमारी बुढाको नाममा डोल्पाकै ठुलोभेरी नगरपालिका–३, को दुई वटा ठाउँमा जमिन छ । एक ठाउँमा ०००.४२५ वर्ग मिटर क्षेत्रफल र अर्को ०००.२० वर्ग मिटर क्षेत्रफलमा जमिन रहेको उल्लेख छ । उक्त सम्पत्ति व्यापारबाट जोडेको उल्लेख छ ।
बुढासँग २० तोला सुन, ६० तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ । उक्त सम्पत्ति पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै श्रीमतीकै नाममा रहेको नेपाल बैँकमा २० लाख रकम मौज्दात रहेको उल्लेख गर्नुभएको छ । उक्त रकम पनि व्यापारबाट नै जोडेको उल्लेख छ ।
बुढासँग दुईवटा बुलेट बाइक रहेका छन् । एउटा ७ लाख ५० हजार र अर्को ५ लाख ५० हजार मूल्य परेका ती बाइकहरू पनि व्यापारबाट नै जोडेको उल्लेख छ । यस्तै उहाँसँग चार वटा घोडा, ५ गाई, १० भेडाबाख्रा रहेको छन् । ती सबै पुर्ख्यौली सम्पत्ति रहेको बुढाले उल्लेख गर्नुभएको छ । अन्य सम्पत्तिमा १० केजी काँच र २०० केजी तामा रहेको पनि बुढाको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँसँग ऋण छैन ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले आफ्नो बस्ने घर नभएको उल्लेख गर्नुभएको छ । उहाँकोे रुकुम पश्चिमको बाँफिकोट गाउँमा २७५२ र ८० वर्ग मिटरको दुई ठाउँमा जमिन छ भने कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ३ कट्ठा ९ धुर जमिन छ । बाँफिकोटको पुर्ख्यौली हो भने कपिलवस्तुको स्रोत खुलेको छैन् ।
उहाँसँग पनि सुन चाँदी केही छैन । परिवारको नाममा दुईवटा बैँकमा ६ लाख एक हजार ३ सय ३५ रुपैयाँ मौज्दात छ । केसीको पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख छ । त्यस बाहेक उहाँसँग केही सम्पत्ति पनि छैन ।
यस्तै भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको काठमाडौँको बूढानीलकण्ठमा ४ आनाको दुई तलाको घर छ । ७५ लाख ऋणमा किनिएको शाहले उल्लेख गर्नुभएको छ ।
उक्त घर उहाँकी श्रीमती लक्ष्मीदेवी शाहको नाममा छ । शाह दम्पती दुवै राजनीतिमा मात्रै संलग्न हुनुहुन्छ । श्रीमतीकै नाममा तीन ठाउँमा जमिन छ । भक्तपुरको सूर्य विनायकमा ४८ लाख मूल्य बराबरको ५०८.७४ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जमिन छ ।
आठबीस नगरपालिका दैलेखको राकम कर्णालीमा १० लाख मूल्य बराबरको १ सय ८५ वर्ग मिटरको जमिन छ भने आफ्नो गाउँमा ५० रोपनी जमिन छ । भक्तपुर र ठाटीकाँधको जमिन पुर्ख्यौली र राकम कर्णालीको जमिन पारिश्रमिकबाट खरिद गरिएको उल्लेख छ ।
उहाँहरूसँग चल सम्पत्ति धेरै छ । ६५ तोला सुन, १५ क्यारेट हिराको हार, रुवी सेट २ थान र १५ सय तोला चाँदीका भाँडा रहेको उल्लेख छ । उक्त सम्पत्ति केही पुर्ख्यौली, छोरा र आफ्नो पारिश्रमिक, छोरीले केही उपहार दिएको उल्लेख छ । उहाँका छोरा र छोरी अस्ट्रेलियामा बस्छन् ।
मन्त्री शाहको नाममा दुई वटा बैँकमा गरी ६० हजार रकम पारिश्रमिकको मौज्दात रकम छ भने एउटा मोबाइल र एउटा ल्यापटप छ । यी सामानहरू पारिश्रमिकबाट खरिद गरेको उल्लेख गर्नुभएको छ ।
यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्री रणसिं परियारको हुम्ला अदानचुलीमा पुर्ख्यौली घर छ । सोही ठाउँमा ६० रोपनी पुर्ख्यौली पाखो बारी (जमिन) छ । ३ तोला सुन, २० तोला चाँदी र ६० हजार रकम मौज्दात रहेको उहाँले सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ । नगद तलभत्ता र बाँकी पुर्ख्यौली सम्पत्ति हो ।
दुई वटा बैँकमा गरी ७० हजार रकम मौज्दात छ भने ४ वटा गाई, ७ गोरु र ३० बाख्रा छन् । सबै पुर्ख्यौली नै रहेको उल्लेख छ । ३ लाख ६० हजार मूल्यको कर्णाली ट्रेडर्स नामको खुद्रा पसल रहेको पनि परियारले उल्लेख गर्नुभएको छ ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतको, कालिकोटको तिलागुफामा एउटा घर छ । यस्तै तिलागुफामै पुर्ख्यौली ७ वटा ठाउँमा जमिन छ । उहाँसँग नगद, सुन, चाँदी केही पनि छैन भने दुई वटा बैँकमा १९ लाख ५० हजार बराबर रकम रहेको उल्लेख छ ।
यस्तै भौतिक पूर्वाधार राज्यमन्त्री गमता विकको,घर, जमिन केही नभएको विवरण पेस गर्नुभएको छ । यद्यपि उहाँको दैलेखको गाउँमा कच्ची पुर्ख्यौली घर छ । उहाँले आफ्नो नाममा नभएकाले नराखिएको बताउनुभयो । उहाँसँग चार तोला सुन, १० तोला चाँदी छ, जो कृषि खेतीबाट जोडेको र केही पैतृक सम्पत्ति हो । ५ लाख रकम बैँकमा जम्मा छ । उक्त रकम सांसदको तलब भत्ताबाट जम्मा गरिएको उल्लेख छ । यस्तै तीन लाख ऋण रहेको र त्यसमा एक लाख तिरिसकिएको बताउनुभयो । उहाँसँग २० हजारको मोबाइल, ५ हजारको घडी र ३० हजारको टिभी रहेको छ । उक्त सम्पत्ति तलब भत्ताबाट जम्मा गरिएको हो ।
नेपालीरैबार । २०८१ श्रावण ४, शुक्रबार