सुर्खेत। हिमाली जिल्ला हुम्ला यस वर्ष शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था हुनु र वर्षा पनि भएका कारण अधिकांस जग्गामा रोपाइँ सम्पन्न भएको हो ।
चङ्खेली गाउँपालिका– ४ का किसान बासना शाहीका अनुसार धेरै धान खेती हुने दार्म जिउलामा रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधा र वर्षा पनि भएका कारण यस जिउलामा समयमै रोपाइँ गर्न पाइएको हो । जिउलामा दुई हजार रोपनीभन्दा बढी जग्गामा धान खेती हुने गरेको छ ।
त्यस्तै, ताँजाकोट गाउँपालिका–३ का किसान जगत शाहीले गाउँपालिका भरी शतप्रतिशत खेतमा रोपाइँ भएको बताए । लामो खडेरी परेको भए पनि सिँचाइ सुविधा गाउँपालिकाभर भएका कारण पनि रोपाइँ गर्न सम्भव भएको हो ।
कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जिल्लाभर सबै खेतमा धान रोपाइँ गर्ने कार्य पूरा भएको बताए ।
गतवर्ष यो अवधिमा ८७ प्रतिशत खेतमा सिँचाइ कार्य सम्पन्न भएको थियो । प्रमुख खड्काले जिल्लाभर मार्सी धान खेती हुने गरेको र अधिकांश खेतमा सिँचाइ सुविधा पुगेका कारण समयमै रोपाइँको काम सकिएको बताए ।
हुम्ला जिल्लामा एक हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । हुम्ला जिल्लामा धान खेती नाम्खा गाउँपालिका बाहेक अन्य सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा हुने गर्छ । हुम्लामा उत्पादन हुने सबै धान मार्सी छ । किसानहरुले यहाँ परम्परागत रुपमा रोपाइँ गर्दै आएका छन् ।
नेपालीरैबार । २०८१ श्रावण ४, शुक्रबार