वीरेन्द्रनगर नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि छलफल

सुर्खेत । वीरेन्द्रनगर नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि छलफल गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित जैविक विविधता र वातावरणका विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको हो ।

छलफलका सहभागीहरुले नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरको उचित व्यवस्थापनका लागि प्रभावकारी योजना नहुँदा चुनौती थपिदै गएको बताए ।

वीरेन्द्रनगर नगरपालिका–८, का वडाध्यक्ष टिकाराम शर्माले वडासँग प्रर्याप्त सोत साधन नहुनुले दिनानुदिन फोहोरमैला व्यवस्थापन मुख्य चुनौती बन्दै जान थालेको बताए ।

वीरेन्द्रनगरको मात्र नभई समर्ग कर्णालीको समस्या भएको उल्लेख गर्दै यहाँको दीगो फोहोर व्यवस्थापन प्रदेश सरकारको नीतिमा नपुर्नु दुखद् रहेको वडाध्यक्ष शर्माको भनाई थियो । वडातहमा फोहोरमैला व्यवस्थापनमा भुमिका खेलको भएपनि उपल्ला निकायले प्रभावकारी योजनासहित स्रोतको व्यवस्थापन नगरिदिदा बदनाम हुने अवस्था आएको उनको भनाई थियो ।

वडाले पाएको अधिकार अनुरुप फोहोर व्यवस्थापनमा तल्लोस्तरसम्म स्रोत नपुगेसम्म समस्या समाधान नहुने भन्दै वडाध्यक्ष शर्माले वडाले फोहोर व्यवस्थापन गर्न नसक्ने बताए । फोहोर मैला व्यवस्थापनमा भएका विद्यमान व्यवस्थाहरुको प्रभावकारी कार्यान्वय नहुनुले पनि फोहोर व्यवस्थापनमा चुनौती रहेको उनले बताए ।

यस्तै, वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले नगर क्षेत्रबाट उत्पादन भएको फोहोरका कारण वडावासीले सास्ती भोग्नु परेको बताए । फोहोर विर्सजन क्षेत्रमा जानेक्रममा गाडीहरुले सुरक्षाका उपाय नअपनाउने र जथाभावी ल्याण्डफिल्ड साइडमा फोहोर बिसर्जन गरिदा स्थानीय दुर्गन्धको मार खेप्न बाध्य भएको उनको भनाई थियो ।

फोहोर संकलनको जिम्मा पाएका ठेकेदारको लापरवाहीले झन् समसया भएको उनले बताए । यस्तै, वीरेन्द्रनगर नगरपालिकाको वातावरण शाखाका प्रमुख यामलाल गिरीले नगर क्षेत्रभित्र कुहिने भन्दा पनि नकुहिने फोहोरको व्यवस्थापनमा चुनौती रहेको उल्लेख गर्दै नागरिकमा चेतनाभन्दा पनि व्यवहारमा परिवर्तन आउन नसक्दा समस्या भएको बताए ।

विशेष गरी नागरिकहरुले घरबाट फोहोर निकाल्दा कुहिने र नकुहिने फोहोर अलग नगर्दा समस्या रहेको उनको भनाई थियो । नगरपालिकाले फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि विभिन्न योजनाहरु अगाडि सारेको उल्लेख गर्दै उनले वीरेन्द्रनगरलाई स्वच्छ राख्न सबैको हातेमालो आवश्यक रहेको बताए ।

यस्तै, पारिस्थिकीय प्रणाली तथा वन्यजन्तु माथि हुने जोखिम घटाइ प्रकृति संरक्षण र सुरक्षित भविष्यसहितको समृद्धि सुनिश्चि गर्न कर्णालीमा युएसएड जल जंगल परियोजना लागु भएको जल जंगल परियोजनाका प्रतिनिधि विनोद शाहीले बताए ।

सुर्खेतमा जैविक विविधता र वातावरण संरक्षण र दीगो फोहोर व्यवस्थापनका लागि आगामी दिनमा वीरेन्द्रनगरसँग मिलेर काम गर्ने गरी परियोजना तयार भइरहेको उनले बताए ।

वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको मोडल बनाएर प्रभावकारी कार्यान्वयनको पाटोमा लैजान सके मात्रै नगर क्षेत्रलाई सफा राख्न सकिने छलफलका सहभागीहरुले जोड दिएका थिए । छलफलमा नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष तथा सरसफाईका क्षेत्रमा काम गर्ने संस्थाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया