मेहलकुना अस्पतालको भवन निर्माणमा ठेकेदारकाे लापरबाही, पटक–पटक म्याद थप्दा पनि काम सुस्तै

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शैय्याको मेहलकुना अस्पताल भवन निर्माणका लागि फेरि म्याद थप भएको छ । २०८० जेठ २७ देखि २०८१ पुष २९ गतेसम्मका लागि म्याद थपिएको हो ।

५० शैय्या विस्तारसँगै संरचना अभाव भएपछि साढे ६ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ पुस २७ गते ठेक्का सम्झौता भएको हो । २८ करोड लागत अनुमान गरिए पनि २१ करोड ७९ लाख ४१ हजारमा ठेक्का सम्झौता गरिएको थियो ।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको छ । पहिलो सम्झौताअनुसार २०७७ असार २५ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएको समयमा काम नसकिएपछि २०७७ असोजमा पहिलो पटक ६ महिना म्याद थप भयो । २०७७ असोज २५ गतेदेखि पुस २५ गतेसम्म म्याद थप गरिएको थियो । त्यसयता विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पटकपटक म्याद थप गरिरहेको छ ।

खरिद ऐनको १३औँ संशोधन अनुसार पुनः भवन निर्माणको म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर पूर्ण शर्माले बताए । उनका अनुसार हालसम्म भवन निर्माणको ७० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६५ प्रतिशत वित्तिय प्रगति हासिल भएको छ । भवन निर्माण थालिएको साढे ६ वर्ष भएपनि हालसम्म भवनको ७० प्रतिशत मात्रै प्रगति भएको हो । अझै ३० प्रतिशत काम बाँकी छ । भवन निर्माणको गति भने निकै सुस्त छ । धेरै पटक म्याद थपिएपनि ठेकेदारको लापरबाहीले काम हुन नसकेको जनाइएको छ ।

भवन निर्माण नहुँदा सेवा प्रवाहमा असर परेको मेहेलकुना अस्पतालका प्रमुख डा। सोजन सापकोटाले बताए । ‘५० शैय्या क्षमता भएपनि १५ शैय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ’ सापकोटाले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’ अहिले २४ बेडबाट सेवा दिइरहेको भन्दै उनले २६ बेड अझै अभाव रहेको बताए । पूर्वाधार अभाव हुँदा सेवा दिन नसकिएको उनको भनाइ छ ।

भवन निर्माणको काम कछुवा गतिमा भइरहेको भन्दै उनले छिटो काम सक्नुको सट्टा पटक–पटक म्याद थप गरिएको जनाए । ‘अस्पतालको भवन नभएर साँघुरो कोठाबाट उपचार गरिरहनु परेको छ,’ सापकोटाले भने, ‘ठेकेदारले सरासर काम नगरेकाले ढिलो भयो, त्यसले नागरिकमा निरासा छाएको छ । प्रभावकारी सेवा दिन सकिएको छैन ।’ भवन नहुँदा उपचारमा समस्या भइरहेको र सम्बन्धित पक्षले चासो नदिएको सापकोटाले बताए । ‘उपचार गर्ने ठाउँ अभाव छ, काम गर्न समस्या छ,’ सापकोटाले भने, ‘नयाँ भवन कहिले बन्ने हो कहिले ।’

कहिलेकाँही बिरामीको चाप बढेको बेला भुइँमा राखेर उपचार गर्नु परेको समेत उनले बताए । शैय्या अभाव भएपछि कुनै बेला अस्पताल भर्ना भएका बिरामीहरूलाई नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचारमा आउन लगाउने गरिएको छ ।

यता सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले समयमै काम सक्न ताकेता दिएको छ । ताकिएकै अवधिमा काम सक्न पटक–पटक ताकेता गरिएको कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताए । उनले भने, ‘२०८० जेठमा अन्तिम पटक म्याद थपिएको छ । अन्तिम पटक म्याद थपेर यसै वर्षमा काम सम्पन्न गर्न कार्यालयले ताकेता दिएको छ ।’ उनका अनुसार डेकुरेसन, रंगरोगन लगायतका काम भइरहेका छन् । – यो समाचार साझा विसौनी दैनिकले लेखेको छ ।

तपाईको प्रतिक्रिया