एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहविरूद्ध यौन दुर्व्यवहारको उजुरी

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहविरूद्ध यौन दुर्व्यवहारको उजुरी परेको छ। शाहले आफूलाई पटक-पटक यौन उत्पीडन गरेको भन्दै पार्टीमै क्रियाशील एक महिलाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै सम्बोधन गरेर उजुरी दिएको पाइएको हो।

यौन दुर्व्यवहारजस्तो गम्भीर प्रकृतिको आरोप लागेपछि एमाले अनुशासन आयोगले दुई महिनाअघि नै कार्यदल बनाएर छानबिन गरिरहेको एक नेताले बताए। ती नेताका अनुसार पार्टी अनुशासन आयोगले नेत्र पन्थी संयोजक रहेको तीन सदस्यीय कार्यदल बनाएको छ। कार्यदलले अध्यक्ष शाहसँग बयान लिएको ती नेताले जानकारी दिए। कार्यदलले सुर्खेत पुगेर त्यहाँका मुख्यमन्त्रीसमेत रहेका पार्टी स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश उपाध्यक्ष टेकराज पछाईं, सचिव ध्रुव शाहीसँग पनि सोधपुछ गरेको ती नेताको दाबी छ।

एमाले अनुशासन आयोग प्रमुख केशव बडालले पनि शाहबारे कार्यदल बनाएर छानबिन भइरहेको बताए। पार्टीमा उजुरी परेकोबारे उनले खुलाएनन्। ‘पत्रपत्रिकामा विभिन्न ढंगले कुरा आउन थालेपछि दुई महिनाअघि कार्यदल बनाएका हौं, कार्यदलले काम गरिरहेको छ। कार्यदलले प्रतिवेदन ल्याएको छैन। प्रतिवेदनका आधारमा निष्कर्षमा पुग्नुपर्ने हुन्छ,’ उनले भने।

पीडित भनिएकी महिलाले एमाले अध्यक्षलाई सम्बोधन गरेर दिएको उजुरी सेतोपाटीले फेला पारेको जनाएको छ । अध्यक्ष ओलीलाई पीडित भनिएकी महिलाले गत जेठ ११ गते नै पत्र बुझाएकी थिइन्। शाहलाई आवश्यक कारबाही गरी न्याय दिलाउन उनले माग गरेकी छिन्। उनले आफू आठ वर्षदेखि शाहको यौन शोषणमा पर्दै आएको पत्रमा उल्लेख गरेकी छिन्।

तपाईको प्रतिक्रिया